फेवाताल फाइलः तस्बिर
पोखरा, १७ चैत/ पोखरा महानगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले फेवाताल सहित ९ वटै तालको मादण्ड तोकेको छ । फेवातालको मापदण्ड ३० मिटर कायम तोकेको छ । सर्वोच्च अदालतको आदेश अनुसार समयमा काम गर्न नसकेपछि मानहानीको मुद्धा खेप्दै आएको पोखराले कार्यकालको अन्तिम समयमा मापदण्ड तोकिदिएको हो ।
यसअघि ६५ मिटर मापदण्ड तोक्न सिफारीस भएपनि त्यसलाई घटाएर ३० मिटर कायम गरिएको हो । मापदण्ड तोक्नका लागि वडा नम्बर १७ का अध्यक्ष तीर्थ अधिकारीको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो । समितिले लिएको सुझावका आधारमा मापदण्ड तोकिएको महानगरले जनाएको छ ।
बेगनास र रुपातालको मापण्दड ५५ मिटर कायम गरिएको छ । सरकारले यि तालहरुको मापदण्ड १ सय मिटर तोकेको थियो । तर स्थानीयलाई असर पर्ने भन्दै ५५ मिटरमा झारिएको हो ।
अरु साना तालको मापदण्ड भने २० मिटर कायम गरिएको छ । योसँगै मापदण्ड भन्दा बाहिरका कित्ताको जग्गा फुकुवा गर्नका लागि सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय बैठकले गरेको छ ।
तालको मापदण्ड निधारण गर्ने थाहापाए पछि केही व्यक्ति गएर महानगरको बैठक कक्षमा नै गएर ताला लगाएका थिए ।