सीप भएका मजदुरलाई राहत प्याकेजको माध्यमबाट संरक्षण गर्नुपर्छः मन्त्री बराल

-


     क्लिक गण्डकी     
     चैत्र ११ गते २०७८ मा प्रकाशित


पोखरा, ११ चैत/ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कोभिडबाट प्रभावित भएका सीपयुक्त मजदुरलाई राहत प्याकेजको माध्यमबाट संरक्षण गर्नुपर्ने बताउनु भएको छ । आइ.बि.एन. मिडिया एण्ड रिसर्च प्रा.लि. र पोखरा उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा शुक्रबार पोखरामा आयोजित अर्थतन्त्रमा कोभिडको असर र पुनरुत्थान बिषयक छलफल कार्यक्रममा वोल्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।

उहाँले भन्नुभयो “प्रदेश सरकारले सीपयुक्त मजदुरलाई राहत प्याकेजको माध्यमबाट संरक्षण गर्नुपर्छ, यदि उनीहरु विदेशीन बाध्य भए भने कोरोनाबाट थलिएको पर्यटन माथि उठाउन गाह्रो हुन्छ ।” सिप युक्त कामदारलाई टिकाउन राज्यको तर्फबाट राहत प्याकेज ल्याउनुपर्ने आवश्यकता रहेको मन्त्री बरालको भनाई थियो । पर्यटन क्षेत्रका पनि दक्ष जनशक्तिलाई जोगाउनुपर्ने उहाँको भनाई थियो ।

उहाँले भन्नु भयो “कोरोनाले गर्दा सवै क्षेत्रमा प्रभाव मात्र भएन त्यसलाई हामीले अवसरको रुपमा ग्रहण गर्न नसक्नु हाम्रो ठुलो भुल हो, त्यही वेला हाम्रो ध्यान कोरोनाबाट कसरी बच्ने भन्ने तर्फ मात्र ध्यान केन्द्रित भयो ।” रोजगारी गुमाएर फर्केका नागरिकलाई क्वारेन्टाइनमा राखेर विभिन्न किसिमका व्यावसायिक प्रशिक्षण दिनुपर्नेमा त्यो विषयमा प्रदेश चुकेको उहाँले बताउनु भयो । व्यवसाय जीवन रक्षा कोष कोरोनाबाट प्रभावित भएका साना तथा मझौला व्यवसायहरुको लागि राज्यको तर्फबाट संरक्षण गर्नुपर्छ भनी ल्याइएको कोष भएको उहाँले बताउनु भयो । उक्त कोष लक्षित समूहसँग पुग्न नसकेको हुदाँ प्रदेश सरकारले क वर्गका बैंकबाट मात्र ल्याइएकोमा अहिले ख वर्गका विकास बैंकबाट समेत यही चैत १९ गतेसम्म आवेदन दिन सकिने उल्लेख गर्नु भयो ।

खर्बऔं खाद्य पदार्थ आयात हुने गरेको उल्लेख गर्दै मन्त्री बरालले नेपालमा आवश्यक हुने खाद्य पदार्थ उत्पादन गर्न सकिने दाबी गर्दै उत्पादनलाई बढावा दिन सुझाव दिनु भयो । माओबादी केन्द्रका नेता समेत रहेका मन्त्री बरालले संघीयताको पहिलो कार्यकालमा अपेक्षाकृत ढंगले संघीयता अघि नबढे पनि निराशाजनक हुने अवस्था भने नभएको जनाउनु भयो । आर्थिक उन्नतिका लागि पर्यटन र कृषिसँग जोड्नुपर्ने धारणा व्यक्त गर्नु भएको मन्त्री बरालले कृषिमा न्युन ढंगले बजेट विनियोजन भएको जनाउनु भयो । पर्यटन र कृषि गण्डकीका समृद्धिका आधार भएको उहाँले बताउनु भयो ।

राजनीतिक स्थायीत्व कायम हुन नसके समृद्धिको कल्पनामात्र हुने उल्लेख गर्दै मन्त्री बरालले राजनीतिक स्थायित्व नै समृद्धिको पहिलो आधार भएको बताउनु भयो । विकासको लागि मानव संशासन ठूलो कुरा भएको उहाँको बुझाई थियोे । उहाँले भन्नुभयो “घर अगाडि चिल्लो बाटो त तर सामाजिक रुपमा उपेक्षित छ भने त्यसको अर्थ हुँदैन, यो सामाजिक न्यायसँग जोडिन्छ ।” निजीसँग भएको ठुलो भोलुमको पुँजी राज्यले उचित ढंगले परिचलान गर्न सक्नुपर्ने उहाँको भनाई थियो ।

नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले अब राजनीति कुरा गरेर मात्र नहुने, कोभिडबाट प्रभावित भएको अर्थतन्त्रलाई माथि उकास्ने गरी काम गर्नुपर्ने बताउनु भयो । साना तथा मझौला व्यवसायीहरुलाई पुनरुत्थान नगरी कोभिडबाट प्रभावित भएको व्यवसायीलाई माथि उठाउन नसकिने पूर्व अध्यक्ष मुल्मीले बताउनु भयो । निती नियम बनाए पनि त्यसको कार्यान्वयनमा कठिनाई भएको उल्लेख गर्दै मुल्मीले व्यवसायीक जीवन रक्षा कोष प्रभावकारी ढंगले लागु हुन नसकेको दाबी गर्नू भयो । मुल्यबृद्धि बजार अनियन्त्रित भएको बिषयमा अर्थ मन्त्री सहितका अन्य सरोकारवालाहरुले नियमन गर्नुपर्ने उहाँले बताउनु भयो । राज्य संचालनका निकायहरु थप जिम्मेवार हुनुपर्ने मुल्मीले बताउनु भयो ।

कोभिडको कारण नेपालको अर्थतन्त्र करिब ५ बर्ष पछि धकेलिने भएको प्रा.डा.रेशम थापाले बताउनु भयो । आर्थिक गतिविधि संचालन भए पनि पहिलाको तुलनामा करिब ७२ प्रतिशत मात्र आर्थिक कृयाकलाप हुने गरेको उहाँले बताउनु भयो । गण्डकी प्रदेशको पर्यटन र रेमिट्यान्स प्रभावित हुदा धेरै क्षेत्रमा यसको असर पर्ने प्रा.डा.थापाले बताउनु भयो । उहाँले कोभिडले अर्थतन्त्रमा पारेको प्रभाव र पुनरुत्थान बिषयमा कार्यपत्र प्रस्तुतः गर्दै कोभिडबाट नेपालले आफ्ना उत्पादन विदेशमा पुराउने गरी काम गर्न चुकेको उल्लेख गर्नु भयो ।

अर्थ शास्त्री प्रा.डा. लेखनाथ भट्टराईले कार्यपत्र माथि टिप्पर्ढी गर्दै गण्डकी प्रदेशमा कोभिडबाट पर्यटन, यातायात, कन्स्टक्सन लगायतको क्षेत्रमा बढी प्रभाव परेको बताउनु भयो । रेमिट्यान्स पर्यटनको अभिङग् अंग नभएको उल्लेख गर्दै उहाँले रेमिट्यान्स अनउत्पादन क्षेत्रमा लगानी भएको दाबी गर्नु भयो । गरिब परिवारलाई बर्षमा एक सय दीन रोजगार दियर पनि जनताको जीवन स्तरउकास्न सकिने उनले बताए । प्रदेश सरकारलाई आफुहरुले दिएको सुझाव खासै मनन नगरेको प्रा.डा. भट्टराईको गुनासो थियो ।

संघका अध्यक्ष नारायण कोइरालाले आयातमुखि हाम्रो अर्थतन्त्रलाई अब निर्यातमुखि र आयात कम गरी उत्पादनमा जोडदिनुपर्ने बताउनु भयो । प्रा.लि.का प्रबन्धक हृदयराज गौतमको अध्यक्षतमा कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक विश्वमोहन अधिकारीले बताउनु भयो ।



This will close in 10 seconds