कथा: अंशबन्डा

-


     शिवप्रसाद पाण्डे     
     कार्तिक १ गते २०७८ मा प्रकाशित


मतिरामका दुईवटी बुढीहरु थिए | जेठीबाट सन्तान नभए पछि कान्छी ल्याएका थिए | कान्छी बुढीबाट दुई भाइ छोराहरु जन्मिए | छोराहरुको विवाह भैसकेको थियो | अब यो परिवार छुट्टि भिन्न हुन चाहे | बाबु र कान्छी आमा कान्छा छोरासँग बस्ने भए | जेठो छोराको परिवार छुट्टै बस्ने भए | जेठी आमा एक्लै छुट्टै बस्ने भइन् |

मतिरामको सम्पूर्ण जायजेथा श्रीसम्पत्ति अंश लाग्न पर्ने भयो | कान्छा छोराले बाबु आमाको जीउनी समेत गर्दा खप्लप्कै आधा सम्पत्ति पाउने गराइयो | कान्छाको सम्पत्तिको आधा जेठो छोराले र जेठो छोराले पाउने अंशको आधा जेठी आमाले पाउने सहमति गरियो | यसै अनुसार मासको दाना फोडेर र तिलको दाना घोटेर बाँडने भने झै सबै जग्गा जमिन सुनचाँदि अन्नपात रुपैयाँ पैसा आदि सबै बाँडियो |

मतिरामले गत वर्षबाट सातवटा गाईहरु पालि सानो गाई फर्म संचालन गरेका थिए | सबै गाईहरु दुहुना र समान किसिमका थिए | अंशबन्डा गर्न जम्मा भएका भलाद्मीहरुलाई गाईको अंशबन्डा गर्न मुश्किल प-यो | सातवटा गाईको आधा साडे तीन, साडे तीनको आधा पौने दुई र पौने दुईको आधा सिङ्गो एउटा गाई पनि नपर्ने कसरी बनाउने अन्योलमा परे | गाई टुक्राएर बाँडन मिलेन !

यो छलफल हुदै गर्दा भलाद्मीमध्येका अक्कलराम जुरुक्क उठी कसैलाई केहि नभनि आफ्नो घरतिर हिडे | पाँच जना भलाद्मीमध्ये एकजना गणित बिषय पेन्सनवाला शिक्षक हरि सर पनि थिए | उनले एउटा पानामा गाईको हिसाबकिताब गरिरहेका थिए – कान्छा छोराको भागमा ३.५०० गाई, जेठाको भागमा १.७५० गाई र जेठी आमाको भागमा .८७५ गाई —-आदि |

अक्कलराम पाँच मिनेट पछि आफ्नो घरको गाई डो-याउदै आए | सबै चकित पर्दै हेरे | उनले भने – यहाँ भएका सातवटा गाई जस्तै यो मेरो गाई छैन त ? सबैले भने – छ ! एकैचोटी एउटै ठाउँबाट ल्याएको त हो | अक्कलरामले भन्दै गए – मैले यो गाई यिनीहरुलाई सित्तैमा दिन्छु | यसो गर्दा आठवटा गाई हुन्छन् | आठको आधा चारवटा गाई बाबु आमा पाल्ने कान्छालाई, त्यसको आधा दुईवटा जेठालाई र जेठाले पाएको आधा जेठी आमाले लैजाउँ | सबै खुसी भए | कसैलाई अक्कले बौलाए भन्ने लाग्यो |

भने अनुसार चारवटा गाई कान्छाले लगे | जेठाले दुईवटा र जेठी आमाले एउटा गाई स्याहारे | अक्कलरामको गाई बाँकी रह्यो | सबैले भने – यो गाई कसको हिस्साको हो ? अक्कलले भने – यो मेरो गाई मै लैजान्छु भन्दै गाई डो-याउदै आफ्नो घरतिर गए | गाई त आखिर सातवटै बाडदा पुग्यो | एउटा थप्दा कसरी मिल्यो ? एकजनाले प्रश्न गरे | यो सुनेर अर्कोले भने – एक जनाले हवाईजहाज पखेटा भएर उड्यो, मोटरका पान्ग्रा भएर गुड्यो, तर जेरीभित्र खुदो कसरी पस्यो ? भन्दथ्यो रे | तपाईंका कुरा त्यस्तै भयो !

अर्का भलाद्मी गंभिर हुदै भने – अहिले सांसदहरु बाँडफाँड नमिल्दा समस्या आईरहेको छ | एउटा गाई केहि क्षण थपेर बाँडेपछि फिर्ता लादा पनि कुरा मिल्यो | साडे तीनवटा पाउनेले चारवटा पायो | पौने दुई पाउनेले दुईवटा पायो | एउटा सिङ्गो गाई नपाउनेले एउटा पाइन् | अर्को पाटीको एउटा सांसद ल्याइ बाँडफँड गर्ने हिसाब मिलेपछि फेरि आफ्नै पाटीमा फर्कने गरे झगडा मिल्ने देखिन्छ | अर्का भलाद्मीले यसैमा थपे – संघिय होस वा सातवटै प्रदेशहरुमा एउटै सांसद नपुग्दा समस्या परिरहेकोमा यस्तै गर्नु राम्रो देखिन्छ | जेठी आमाकी संगी वृध्द भद्रकलीले भनिन् – गाई भएर पो बाँडन मिल्यो | गोरु भए काहाँ मिल्दथ्यो | कान्छाका दुई हल, जेठाका एक हल, मेरी संगीका एउटा मात्र, हल जोडने पाइदैन | त्यसपछि सबै मुसुमुसु हाँस्दै एक अर्कोलाई हेराहेर गरे |