नेपालमा ठाउँ ठाउँ दुर्घटना, १८ जनाको निधन

-


     क्लिक गण्डकी     
     पौष २८ गते २०८० मा प्रकाशित


नेपालमा ठाउँ ठाउँ दुर्घटना, १८ जना जनाको निधन

फाइल तस्बिर

पोखरा, २८ पुस/ दाङ, काठमाडौ र बाग्लुङमा भएको छुट्टाछुटै दुर्घटनामा परि १८ जनाको मृत्यु भएको छ । दाङ बस दुर्घटनामा परी मृत्यु भएका १२ जनाको मृत्यु भएको छ ।

बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति सवा १० बजेतिर राप्ती गाउँपालिकास्थित राप्ती नदी पुलबाट खसेको थियो । दुर्घटनामा एक महिला र ११ पुरूष गरी १२ जनाको मृत्यु भएको छ ।

मृतकमध्ये चितवन भरतपुर उपमहानगरपालिका २५ का ३५ वर्षीय अनिल खड्का, बाँकेको खजुरा गाउँपालिका– ३ सिर्जनशील टोलका २५ वर्षीय सन्जय केसी, बाँकेकै कोहलपुर नगरपालिका–८ का २८ वर्षीय अर्पन थापा र भारतको बहराइज नानपारा बग्लुभौतपुरका ४५ वर्षीय चेतराम सिल्पकारको मृत्यु भएको छ ।

त्यसै गरी बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बनेत, मकवानपुर हेटौंडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रागिरी नगरपालिका १५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेश अतिकुल्ला खैरेका ३१ वर्षीय मुने, जुम्लाको श्रीढुम्का ९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेकै ३० वर्षीय रामवरण हरिजन, रूकुमको साविक गोतामकोट गाविस ९ का २५ वर्षीय दिपक कामी, भारतको विहार पूर्वी चम्पारण मलाइका ६७ वर्षीय योगेन्द्र राम जोगेन्द्र रामको बस दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

दुर्घटनाका घाइते २४ जनामध्ये १३ जनाको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा, बुटवलस्थित चौराहा हस्पिटलमा ८ जना, सिटी अस्पताल बुटवलमा १ जना र दाङको राप्ती पोलिक्लिनिक भालुवाङ र प्रस्तावित अस्पताल भालुबाङमा १ जना घाइतेकोे उपचार भइरहेको छ ।

घाइतेमध्ये अझै पनि ४ जनाको अवस्था गम्भीर रहेको, ११ जनाको अवस्था मध्यम र ९ जना सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ । चालक सल्यानको त्रिवेणी गाउँपालिका–४ का २८ वर्षीय लालबहादुर नेपाली प्रहरी नियन्त्रणमा छन्।

चित्लाङ जाँदै गरेको कार दुर्घटना हुदाँ बालकसहित ४ जनाको मृत्यु

काठमाडौंबाट चित्लाङ जाँदै गरेको गाडी चन्द्रागिरी नगरपालिका– ४ सेतो पहराबाट खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । प्र.३–०१–२३ च ६९८५ नम्बरको कार पानीघाटभन्दा माथि हिमचुली सेतो पहरास्थित सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको र १ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–३० मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाण्डौं महानगरपालिका– २ लाजिम्पाटका ३८ वर्षीय डा. महेश कुमार गौतम र ४ वर्षीय प्रियान्स गौतम छन् ।

दुर्घटनामा परी ६ वर्षीया स्मारिका गौतम गम्भीर घाइते भएकी छन् । उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । उनकी आमा डा. सृष्टी तिवारी गौतम सकुशल रहेको एसपी ढुंगेलले जानकारी दिए।

दुर्घटना दुईको मृत्यु, तीन घाइतेलाई हेलिकप्टरबाट पोखरा ल्याउदै

बागलुङ ढोरपाटनमा शनिबार बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागिहेलिकप्टर मार्फत पोखरा ल्याउदै छ ।

बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यकातर्फ जाँदै गरेको जीप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए ।

घाइते लक्ष्मी गैरै, जोगनारायण गैरे र निरुता गैरेलाई थप उपचारका लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पताल ल्याउन लागेको हो । ६ जना घाइतेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

दुर्घटनामा जीप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौँकी २८ वर्षीया सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो । जीपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।



Tags: