लेखनाथमा दुई जनाको ज्यान जाने गरी ठक्कर दिने कारका चालक पुर्पक्षका लागि थुनामा

-


     क्लिक गण्डकी     
     पौष २२ गते २०८० मा प्रकाशित


लेखनाथ दुर्घटना हुदाँ दुई जनाको मृत्यु

लेखनाथ दुर्घटना हुदाँ दुई जनाको मृत्यु

पोखरा, २२ पुस/ पोखरा महानगरपालिकाको लेखनाथमा मंसिर २४ गते कार ठक्करबाट स्कुटरमा सवार २ जना युवतीको मृत्यु भएको घटनामा कार चालक मानबहादुर बानियाँ पुर्पक्षका लागि कारागार चलन भएका छन् ।

सवारी ज्यानसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले आइतबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए । घटनामा डिल्लीराम बराल समेतले कार चालक बानियाँलाई विपक्षी बनाई उजुरी दिएका थिए ।

पृथ्वी राजमार्गअन्तर्गत लेखनाथको सुन्दरीबजारमा कारले स्कुटरलाई ठक्कर दिँदा गण्डकी मेडिकल कलेजमा अध्ययनरत् पोखरा २५, हेमजाकी २३ वर्षीया अनिशा खड्का र पोखरा ५, जिरो किमीकी २४ वर्षीया भावना बरालको मृत्यु भएको थियो ।

पोखराबाट तालचोकतर्फ जाँदै गरेको बिएए ००४१ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।