पोखरा सडक महोत्सव पर्यटन प्रवद्र्धनको ब्रान्ड, पुष दोस्रो साता शुरु हुने

-


     क्लिक गण्डकी     
     मंसिर १० गते २०८० मा प्रकाशित


पोखरा सडक महोत्सव पर्यटन प्रवद्र्धनको ब्रान्ड, पुष दोस्रो साता शुरु हुने

पोखरा सडक महोत्सव पर्यटन प्रवद्र्धनको ब्रान्ड, पुष दोस्रो साता शुरु हुने

पोखरा, १० मंसिर/ अँग्रेजी नयाँ वर्षमा पोखरामा आएका पर्यटकलाई अन्यत्र नयाँ वर्ष मनाउन जान नपरोस् भन्ने उद्देश्यल पोखरामा आयोजना हुदै आएका पोखरा सडक महोत्सव २५ औ पटक हुदैछ ।

२४ वर्ष अगाडि फरक अवधारणाका साथ शुरु गरिएको ‘स्ट्रिट फेस्टिवल’ को २५ औं संस्करण ‘पोखरा सडक महोत्सव’ पुष १२ देखि १६ सम्म पोखरामा हुने आइतबार आयोजित पत्रकार सम्मलेना रेवान पोखराका कार्यबाहक अध्यक्ष एवं महोत्सवका संयोजक विश्वराज पौडेलले जानकारी दिए ।

‘सडक मै खाउँ सडक मै रमाउँ’ भन्ने नाराका साथ आयोजना गरिने यो महोत्सवमा फरकपन ल्याउने महोत्सव आयोजक रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराको दावी छ ।

पोखरा सडक महोत्सवले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सफल भएको संयोजक पौडेलले बताए । उनले सडकमा पाँच दिन नै सांस्किृतक कार्यक्रम हुने बताए ।

महोत्सवमा साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना, कन्सर्ट तथा डकुमेन्ट्री प्रर्दशनी, विभिन्न खेलकुदको, रात्रिकालीन कन्सर्ट आयोजना हुने उनले बताए । सडक महोत्सवमा ५ लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको विश्वास छ ।

पर्यटकलाई सुपथ मूल्यमा बसोबासको लागि होटल एसोसियसनसँग समन्वय गरेर २० प्रतिशत छुटको व्यवस्था गरिने रेवानले जनाएको छ ।

पाँच दिनसम्म चल्ने महोत्सव लेकसाइडको फिस्टेल गेटदेखि खहरे सम्म ३ किलोमिटर क्षेत्रमा हुनेछ । महोत्सवमा हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पति लगायतका कृषि उपजहरूलाई पनि प्राथमिकता साथ स्टलमा राखिने पौडेलले बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले अङ्ग्रेजी नयाँ वर्ष महोत्सव पोखराको ब्रान्डका रूपमा स्थापित भैसकेको बताए ।

पत्रकार सम्मेलनमा नेपालको कला सँस्कृतिलाई विश्वव्यापी रुपमा प्रचार प्रसार गर्नको लागि महोत्सव सहयोगी रहेको रेवान पोखराका महासचिब विकास भट्टराइले बताए ।