
पोखरा– मुग्लिन सडक
तनहुँ, २० कात्तिक/ पृथ्वी राजमार्गअन्तर्गत पोखरा– मुग्लिन सडक केही सुधार भएको छ । वर्षा याममा भन्दा अहिले केही सुधार भएको सडक भएर पोखरा आउने र पोखराबाट मुग्लिन हुदै अन्यत्र जानेहरु बताएका छन् ।
वर्षा याममा खाल्डा खुल्डी धेरै नै थिए भने वर्षाका कारण सडक अप्ठेरो थियो काठमाडौंबाट पोखरा आएका जलेश्वर पौडेले भने अहिले धेरै नै खाल्डा कम भएको बताए । उनले बाटो वर्षा यामका भन्दा धेरै नै सुधार भएको रहेछ तर आजभोली सडकमा धुलो उडेर हैरान रहेछ ।
उनले पहिले पोखराबाट मुग्लिन पुग्न ४ घण्टा लाग्ने गरे पनि अहिले भने ३ घण्टामा नै आफुले बाटो पार गरेको बताए ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पोखरा मुग्लिन सडक विस्तारको काम चलिरहेको छ । यती बेला तनहुँको डुम्रे–छिर्कने खण्डमा कालोपत्र थालिएको छ । मुग्लिन पोखरा सडकलाई चार लेनमा विस्तार गर्ने योजनाअनुरुप बन्दीपुर गाउँपालिका–१ डुम्रेको नालादेखि छिर्कनेसम्म सडक कालोपत्रको काम सुरु योजनाले जानकारी दिएको छ ।
तिहारअघि नै सक्ने गरी डुम्रेको नाला पुलबाट छिर्कनेतर्फको तीन किलोमिटर सडक कालोपत्र सुरु भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । तिहारपछि भने नालापुलबाटै छिर्कनेसम्मको करिब छ किलोमिटर खण्ड कालोपत्र गर्ने योाजना छ ।
यसअघि आयोजनाले आँबुखैरेनी खण्डमा कालोपत्र गरेको थियो । आँबुखैरेनी गाउँपालिका–१ बरादीमा डेढ किलोमिटर सडक कालोपत्र भइसकेको छ । पृथ्वी राजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा धमाधम काम भइरहेको छ । यो खण्डमा हालसम्म ३६ प्रतिशत काम सकिएको छ ।
४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।
पश्चिम खण्डअन्तर्गत निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । पश्चिम खण्डको काम भने सुस्त छ ।
विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।





