
पोखरा मेयर र युरोपियन युनियनका एरियनको भेट, नवीकरणीय उर्जामा सहयोग गर्ने
पोखरा, १७ कात्तिक/ युरोपियन युनियनका बाह्य निगरानी विशेषज्ञ एरियन होक्साले पोखरामा निर्माण हुने घर तथा भवनहरू ऊर्जायुक्त बनाउने विषयमा नगरप्रमुख धनराज आचार्यसँग छलफल गर्नुभएको छ ।
छलफलका क्रममा यस सम्बन्धी परियोजना सञ्चालन तथा सहकार्यका लागि आफूहरू तयार रहेको उहाँले बताउनुभयो ।
यस परियोजनाले नयाँबन्ने भवनहरूमा जलवायु अनुकूलन, रिट्रोफिटिंग, दिगोपना र नवीनतम प्रविधिहरूको प्रयोग र नवीकरणीय ऊर्जा स्रोतहरूको एकीकरणलाई बढवा दिने विश्वास गरिएको छ ।
बढ्दो सहरीकरण सँगै घर तथा भवनहरू निर्माणको क्रम तीव्र भइरहेका बेला होक्साको प्रस्ताव सान्दर्भिक रहेको प्रमुख आचार्यले बताउनुभयो । यस सम्बन्धी थप छलफल गरेर मात्र निष्कर्षमा पुगिने उहाँले बताउनुभयो ।
विगत केही दशकहरूमा भइरहेको तीव्र सहरीकरणको मागले गर्दा स्थानीय वातावरणलाई ध्यान नदिई भवनहरू डिजाइन गरिदा भविष्यमा समस्या आउन सक्ने सम्भावनाको अन्त्यका लागि ऊर्जायुक्त भवनहरू निर्माण आवश्यक रहेको उहाँले बताउनुभयो ।
नेपालमा यो परियोजना लागु गर्न युरोपियन युनियनले २४ लाख ४३ हजार ५ सय युरो बजेटको व्यवस्था गरेको छ । सोही बजेट अन्तरगत पोखरामा पनि परियोजना सञ्चालनको सम्भावना खोजिरहेको होक्साले बताउनुभयो ।





