मदरल्याण्डमा २९ औँ वार्षिक खेलकुद कार्यक्रम

-


     क्लिक गण्डकी     
     असाेज ३० गते २०८० मा प्रकाशित


मदरल्याण्डमा २९ औँ वार्षिक खेलकुद कार्यक्रम

मदरल्याण्डमा २९ औँ वार्षिक खेलकुद कार्यक्रम

पोखरा, ३० असोज/ सैद्धान्तिक सिकाइका साथमा विद्यार्थीको सर्वाङ्गीण विकासलाई ध्यानमा राखेर पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयले २९ ओैँ वार्षिक खेलकुद कार्यक्रम विद्यालय प्राङ्गणमा एक समारोहबिच मङ्गलबार सम्पन्न गरेको छ।

एक महिना अघिदेखि अनौपचारिक रूपमा सञ्चालन हुँदै आएको यस कार्यक्रम ओैपचारिक रूपमा दुई दिनसम्म चलेको थियो। दुई दिने ओैपचारिक खेलकुद कार्यक्रममा खेलकुद विभागका प्रमुख गङ्गाबहादुर गुरुङलाई बल हस्तान्तरण गर्दै प्राचार्य नारायण बरालले बालबालिकाको सर्वाङ्गीण विकासका लागि खेलको महत्त्व र खेलकुदमा अनुशासनको भूमिकाका बारेमा प्रस्ट पार्नुभएको थियो।

यस अवसरमा मार्च पास, फुटसल, दौड, रिले दौड, भलिबल, बास्केटबल, टेबलटेनिस, टग अफ वार, बेलुन ब्रस्ट, म्युजिकल प्लेट, चेस, हिसाब दौड आदिजस्ता खेलहरूमा कक्षा नर्सरीदेखि कक्षा दससम्मका सबै विद्यार्थीहरू कक्षागत, खुला तथा अन्तर सदनात्मक रूपमा जुनियर र सिनियर गरी तहगत सहभागी भएका थिए।

समापन सत्रमा सञ्चालित खेलहरूमध्ये भलिबलमा उत्कृष्ट खेलाडीको उपाधि छात्रातर्फ अछेता दाहालले र छात्रतर्फ समीप थापाले प्राप्त गर्न सफल भएका थिए भने बास्केटबल सिनियरमा उत्कृष्ट खेलाडीको उपाधि छात्रतर्फ संयोक गुरुङ र छात्रातर्फ एन्जल नेपालीले हात पारेका थिए भने जुनियरमा छात्रतर्फ केसाङ गुरुङले र छात्रातर्फ श्रेया बरालले जितेका थिए ।

त्यसै गरी फुटसल सिनियरमा सर्वाधिक गोलकर्ताको उपाधि छात्रतर्फ युवराज अधिकारीले र उत्कृष्ट खेलाडीको उपाधि गृष्म महर्जनले हात पार्न सफल भएका थिए भने छात्रातर्फको उत्कृष्ट खेलाडीको उपाधि अस्मिता दवाडीले हात पार्न सफल भएकी थिइन्। त्यस्तै फुटसल जुनियर छात्रतर्फ सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट खेलाडीको उपाधि एरिक कुँवर र छात्रातर्फको उत्कृष्ट खेलाडीको उपाधि आयुषी थापाले हात पार्न सफल भएका थिए।

सम्पूर्ण खुला तथा अन्तर सदनात्मक प्रतिस्पर्धाका आधारमा पाएको अङ्कका आधारमा यस वर्षको खेलकुद च्याम्पियनको उपाधि रातो सदनले प्राप्त गर्न सफल भएको कुरा विद्यालयले जानकारी दिएको छ।

प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई प्राचार्य नारायण बराल, विज्ञान विभागका प्रमुख महेशकुमार प्रधान, नेपाली विभागका प्रमुख डण्डपाणि सुवेदी , सामाजिक अध्ययन विभागका प्रमुख गुरुदत्त दवाडी, गणित विभागका प्रमुख दिपक कुँवर, खेलकुद शिक्षक रामबहादुर बिकलगायतले प्रमाणपत्रका साथ खादा, मेडल तथा ट्रफी प्रदान गर्नुभएको थियो।

खेलकुद विभागका प्रमुख गङ्गाबहादुर गुरुङको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन तथा समापन सत्रको सञ्चालन विद्यालयका सहकार्यकलाप प्रमुख सुनिल सुवालले गर्नुभएको थियो।



Tags: