
आँखा पाक्ने रोगको प्रकोपका कारण पोखराका विद्यालय २६ गते सम्म बिदा
पोखरा, २३ साउन/ आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि पोखरा महानगरपालिकाले साउन २६ गते सम्म सार्बजनिक बिदा दिएको छ ।
महानगरको शिक्षा शाखाले मंगलबार विज्ञप्ती जारी गर्दै महानगरपालिकाका कक्षा १२ सम्म संचालन हुने विद्यालयहरुमा साउन २६ गते शुक्रबार सम्म सार्बजनिक बिदा दिने उल्लेख गरेको छ ।
आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएकाले अझ फैलन रोक्नका लागि बुधबारबाट ३ दिनका लागि विद्यालय बिदा दिएको महानगरका बरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुबेदीले जानकारी दिए ।
पोखरा महानगरभित्रका संस्थागत २ सय ४३ र सामुदायिक २ सय ३ विद्यालय रहेका छन् । प्रमुख जिल्ला अधिकारी, शिक्षक अभिभावक संघ, नगर कमिटीका अध्यक्ष र शिक्षकहरूको छलफलपछि विद्यालय बिदा गर्ने निर्णय भएको उनले जानकारी दिए । शनिबार सहित ४ दिन बिदा गर्दा आँखा पाक्ने रोगका विरामी घट्ने र नघटेमा पुन छलफल गर्ने उनले बताए ।





