सेन्ट जेभियर्सलाई पछि पार्दै मदरल्याण्ड च्याम्पियन बन्न सफल

-


     क्लिक गण्डकी     
     श्रावण ७ गते २०८० मा प्रकाशित


सेन्ट जेभियर्सलाई पछि पार्दै मदरल्याण्ड च्याम्पियन बन्न सफल

सेन्ट जेभियर्सलाई पछि पार्दै मदरल्याण्ड च्याम्पियन बन्न सफल

पोखरा, ७ साउन/ प्रत्येक वर्ष बिसौँ हजार विद्यार्थीलाई इन्जिनियरिङ तथा आइटीको प्रवेश परीक्षाको तयारी गराउने संस्था पिइएद्वारा आयोजित हालै काठमाडौंमा सम्पन्न राष्ट्रव्यापी इन्जिनियरिङ तथा आइटी क्विज प्रतियोगितामा सेन्ट जेभियर्सलाई पछाडि पार्दै पोखराको मदरल्याण्ड मा।वि। च्याम्पियन बन्न सफल भएको छ।

काठमाडौंको एड्भान्स इन्जिनियरिङ कलेज बल्खुमा शनिबार भएको उक्त प्रतियोगितामा देशभरिका करिब ३५० प्लस टुबाट छनोट चरण पार गरेका ४४ समूह अन्तिम प्रतियोगिताका लागि सहभागी भएका थिए। छनोट चरण गत वर्ष माघदेखि भएको बताइएको छ।

उक्त प्रतियोगितामा च्याम्पियन हुने विद्यालय मदरल्याण्डबाट कक्षा १२ का विनायक बाँस्तोला र प्रवेश बाँस्तोला गण्डकी प्रदेश स्तरीय छनोट प्रतियोगितामा प्रथम भई अन्तिम प्रतियोगितामा सहभागी भएका थिए भने च्याम्पियन हुने विद्यालयले रू एक लाख नगदसहित दुईओटा ल्यापटप, ट्रफी र मेडल गरी करिब ३ लाख बराबरको पुरस्कार जितेको कुरा मदरल्याण्ड मा। वि। का प्लस टु इन्चार्ज नारायण आचार्यले बताउनुभएको छ।

त्यसै गरी द्वितीय स्थान सेन्ट जेभियर्स काठमाडौं, तृतीय ब्लु बर्ड स्कुल ललितपुर र सान्त्वना स्थान होराइजन स्कुल बुटवलले हात पारेको कुरा कार्यक्रम संयोजक तथा प्रोफेसर एवम् गणित विशेषज्ञ निरज शर्माले बताउनुभएको छ।

पिइएले विशेष गरी दस जोड दुईको अध्ययनपछि इन्जिनियरिङ तथा आइटीका क्षेत्रमा भविष्य देख्ने विद्यार्थीका लागि प्रवेश परीक्षाको तयारीका साथ बौद्धिक विकास हुने प्रतियोगितात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको कुरा स्रोतले जानकारी दिएको छ।



Tags: