
गण्डकी प्रदेशसभा
पोखरा, १ असार/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दैछ । चालु वर्षमा ३५ अर्ब ९० करोडको बजेट कार्यान्वयन गरेको सरकारले आगामी ३३ अर्ब हाराहारीमा बजेट ल्याउने तयारीमा छ ।
केन्द्र सरकारले दिने अनुदान घट्नु र आन्तरिक राजश्वमा समेत कमि आएका कारण बजेटको अंक घटाएर ल्याउन लागेको हो ।
संघ सरकारले दिने अनुदानमध्ये सशर्त र समानीकरण अनुदान घटेको छ ।
सशर्तमा २ अर्ब ४७ करोड ६८ लाख रुपैयाँ घटाएको छ भने समानीकरण अनुदानमा ३० करोड ५४ लाख घट्ने भएको छ । चालु वर्षका लागि १६ अर्ब ५४ करोड ३२ लाख अनुदान पठाएको संघले आगामी वर्षका लागि १३ अर्ब ४५ करोड ३५ लाख पठाउने छ । विशेष अनुदानमा पनि १६ करोड कम बजेट आउनेछ ।
आगामी वर्षका लागि समानीकरण अनुदान ७ अर्ब ६२ करोड २५ लाख, सशर्त अनुदान ४ अर्ब ४४ करोड १५ लाख संघबाट प्राप्त हुने गण्डकी प्रदेश अर्थ मन्त्रालयले जनाएको छ । आन्तरिक आम्दानी ३ अर्ब हाराहारी हुने अनुमान छ ।
सरकारले चालु आर्थिक वर्षमा आन्तरिक आम्दानी ५ अर्ब ९० करोड हुने अनुमान गरेको थियो । कोरोना र आर्थिक मन्दीका कारण अपेक्षाकृत राजश्व उठेको छैन ।







