गण्डकी प्रदेश संसद अधिबेशन बैशाख ९ गतेका लागि आह्वान

-


     क्लिक गण्डकी     
     वैशाख १ गते २०८० मा प्रकाशित


गण्डकी प्रदेशसभा

गण्डकी प्रदेशसभा

पोखरा, १ बैशाख/ गण्डकी प्रदेशको संसद अधिबेशन वैशाखको ९ गतेका लागि आवाहन गरेको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार विज्ञप्ती जारी गर्दै बैशाख ९ गते शनिबार ३ बजेका लागि बैठक आवाहन गरेका हुन् ।

बिहीबारको प्रदेश मन्त्रिपरिषदको बैठकले अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिबेशन आवाहन गरेका हुन् ।

खगराज अधिकारी नेतृत्वको सरकारलाई माओावादी केन्द्रले समर्थन फिर्ता लिँदै चैत १० गते सरकारबाट बाहिरिएपछि गण्डकी प्रदेश सरकार अल्पमतमा परेको थियो । विश्वासको मतका लागि १ महिने अवधि बैशाख ९ गते सम्म रहेको छ । अधिवेशनमा मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि प्रस्ताव लैजान्छन् वा संवोधन गरेर राजीनामा दिनसक्ने छन् ।

६० सदस्यीय प्रदेश सभामा एमालेको २२ र राप्रपाको २ मत छ । त्यसवाहेक अब बन्ने सरकारका लागि कांग्रेसको २७, माओवादीको सभामुख सहित ८ जना छन् । स्वतन्त्रबाट जितेका दीपक मनाङे एकीकृत समाजवादीमा गएका छन् ।



Tags: