
पोखराको न्युरोडमा २ करोडको लागतमा पाल्पाली हाउस
पोखरा, ९ चैत/ पोखराको न्युरोडमा पाल्पाली हाउस सञ्चालनमा ल्याएको छ । ढाका र करुवा पाल्पाको चिनारी हुन् । ढाका र करुवालाई पोखरामा बसोबास गर्ने पाल्पालीहरुको समाजले उत्पादनको बजारी करण गर्ने उद्देश्यले पोखरामा हाउस सञ्चालनमा ल्याएको हो ।
समाजकै पहलमा पाल्पा हाउस प्रालि, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था र पाल्पाली कोलोनी खुलेका छन् । पाल्पा हाउस प्रालिले करिब २ करोड लागतमा पोखराको न्युरोडमा पाल्पा हाउस सञ्चालनमा ल्याएको छ । प्रेमको प्रतीक रानीमहलको स्वरुपमा निर्मित दुईतले भवनमा पाल्पाली ढाका, करुवा लगायत पाइने छन् ।
पाल्पाका मौलिक उत्पादन पोखरामा बिक्री गर्ने उद्देश्यले पाल्पा हाउस संचालन गरिएको कम्पनी अध्यक्ष कुलप्रसाद घिमिरेले बताए । १० वर्षको लागि जग्गा लिजमा लिएर निर्मित पाल्पा हाउसमा १७ सटरमा विभिन्न खालका पसल संचालित छन् । कम्पनीले संचालन गरेको रानीमहल रेस्टुरेन्टमा पाल्पाली परिकार चुकाउनी, बटुक, छोइला लगायत पाइन्छ ।
यस्तै पाल्पा हाउसमा पाल्पाका फलफूल, तरकारी लगायतका कृषिजन्य उत्पादनहरु एकैथलोमा उपलब्ध हुनेछ । यसले पाल्पा र पोखराको पर्यटनसहित आर्थिक गतिविधिमा ठूलो महत्व राख्ने विश्वास गरिएको पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष चिरञ्जीवी श्रेष्ठले बताए ।
पाल्पाली समाज पोखराका अध्यक्ष रेशम थापाले आर्थिक गतिविधिसँगै पर्यटन पर्यटनमा यसले विशेष महत्व राख्ने बताउँछन् । उद्घाटनपछि केही समय हरेक सटर र रेष्टुरेन्टमा ग्राहकलाई १० प्रतिशत छुटको व्यवस्था मिलाइएको बुधबार आयोजित पत्रकार सम्मेलनमा संचालकमध्येका एक खेम सारुले बताए । पाल्पा हाउसमा हाल ७० जना सेयर सदस्य छन् ।





