
रवि लामिछाने
पोखरा, ६ चैत/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी विवादमा मुद्दा नचल्ने भएको छ । महान्यायाधिवक्ता दिनमणि पोखरेलले सोमबार लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय गरेका हुन् ।
यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरूद्ध मुद्दा नचलाउने प्रतिवेदन उच्च सरकारी वकिलको कार्यालयमा पठाएको थियो । उच्च सरकारी वकिलको कार्यालयले जिल्लाको प्रतिवेदनलाई गत बिहीबार महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो ।
काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले लामिछाने माथि विशेषगरी चार वटा आधारका कारण मुद्दा नचलाउने निर्णय गरेको थियो ।
लामिछानेले सन् २०१५ मा लिएको ०८८३४८३८ नम्बरको राहदानी दुरूपयोग गरेको अध्यागमन विभागको रेकर्डमा नदेखिएको, अमेरिकी नागरिक हुनुअघि उनी वंशजको आधारमा नेपाली नागरिक रहेको र विदेशी नभई गैरआवासीय व्यक्तिसरह रहेको, त्यो राहदानी अध्यागमन विभागबाट रद्द पनि भइसकेको र नागरिकता पुनः प्राप्ति गरिसकेको कुरालाई कार्यालयले लामिछानेविरूद्ध मुद्दा नचलाउने आधार बनाएको छ ।
लामिछानेले राहदानी दुरूपयोग गरेको भन्ने उजुरी परेपछि परिसरले अनुसन्धान गरिरहेको थियो ।





