
गण्डकीमा मानव अधिकारका घटनामा बृद्धि
पोखरा, ८ फागुन/ गण्डकी प्रदेशमा सन् २०२२ मा मानव अधिकारको घटनामा बृद्धि भएका छन् । इन्सेकले वर्ष पुस्तक गण्डकी प्रदेश सार्वजनीक गर्दै राज्य पक्षबाट ४० जना र अन्य पक्षबाट ५ सय १ जना गरी ५ सय ४१ जना मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा पीडित भएको गण्डकी प्रदेश संयोजक शिव खकुरेलले बताए ।
तीमध्ये राज्य पक्षबाट ४० जना पुरुष र अन्य पक्षबाट ४ सय ६३ महिला र ३८ पुरुष छन् । अघिल्लो वर्ष गण्डकीमा राज्य पक्षबाट १ जना महिला र ४८ जना पुरुष गरी ४९ जना र अन्य पक्षबाट महिला ४ सय ३४ जना र ३० जना पुरुषसहित ४ सय ६४ जना गरी ५ सय १३ जना पीडित भएका थिए ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष संख्यात्मक हिसाबले राज्य पक्षबाट भएका घटनामा ९ जनाले कमी आएको छ भने अन्य पक्षवाट भएका घटनामा ३७ जनाले वृद्धि भएको छ । यसका आधारमा पनि यस प्रदेशमा मानवअधिकार उललंघन तथा ज्यादतीका घटनामा गत वर्षको तुलनामा बढेको देखिएको उनले बताए ।
गत वर्ष राज्य पक्षबाट भएका घटनामा अभिव्यक्ति, भेला तथा संगठित हुन पाउने अधिकारबाट ३३ जना, गिरफ्तारीका घटनामा ६ जना र लमजुङ कारागारमा मृत्युको घटनामा १ जना गरी ४० जना पीडित भए भने अन्य पक्षबाट ३ जना महिला घाइते भए ।
अपहरणमा १ जना महिला, कुटपिटमा ३ जना महिला र १२ जना पुरुष गरी १५ जना पीडित भएका छन् ।
धम्कीका घटनामा अन्य पक्षबाट महिला २ जना र पुरुष ४ जना गरी ६ जना पीडित भए । अन्य पक्षबाट १० जना महिला र १० जना पुरुष गरी २० जनाको हत्या भयो । महिला अधिकार सम्बन्धी विभिन्न घटनामा ३ सय ३७ जना महिला पीडित भएका छन् ।





