गण्डकी प्रदेशमा बिनियोजन ऐन संशोधन विधेयक पारित, रकमान्तरको बाटो खुल्यो

-


     क्लिक गण्डकी     
     माघ २७ गते २०७९ मा प्रकाशित


गण्डकी प्रदेशसभा

गण्डकी प्रदेशसभा

पोखरा, २७ माघ/ गण्डकी प्रदेशसभाले बिनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बेनको विधेयक शुक्रबार सर्वसम्मत पारित गरेको छ ।

अघिल्लो सरकारले ल्याएको बजेट र योजना हेरफेर गर्न सरकारले ऐन संशोधन गरेर रकमान्तर गर्ने बाटो खुलेको हो । अघिल्लो विधेयकमा चैतमा मात्रै रकमान्तर गर्न पाइनेलाई संशोधन गरेर फागुनमा नै रकमान्तरको बाटो खुलेको छ ।

संशोधन विधेयक आर्थिक मामिला मन्त्री सीताकुमारी सुन्दासले २० माघको बैठकमा प्रस्तुत गरेकी थिइन् । त्यसपछि २४ माघमा सैद्धान्तिक छलफल भएको थियो । दफावार छलफलपछि संशोधन विधेयक आज निर्णयार्थ प्रस्तुत भएको थियो । विपक्षी दल कांग्रेस तटस्थ बसेपछि सभामुख कृष्णप्रसाद धितालले विधेयक सर्वसम्मत पारित भएको घोषणा गरे ।

शुक्रबार नै आन्तरिक मामिला तथा कानून मन्त्री रोशनबहादुर गाहाले प्रदेश सभा बैठकमा ‘केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक’ प्रस्तुत गरेका छन् ।

छुट्टाछुट्टै संशोधन गर्न झन्झटिलो हुने भएपछि प्रदेश सरकारले यसअघि बनेका ३५ वटा ऐन एकमुष्ट संशोधन गर्न संशाधन विधेयक प्रस्तुत गरको हो । संशोधन गर्न लागिएका ऐनमा अधिकांश भाषिक संशोधन रहेका छन् । बैठक माघ २९ गते दिउँसो एक बजे बस्ने छ ।



Tags: ,