
पोखरा स्कुल बस दुर्घटनाः
पोखरा, ६ कात्तिक/ कास्कीमा असोज महिनामा विभिन्न ठाउँमा भएका दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको छ । ५९ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन् । यो संख्या अन्य महिनाका तुलनामा बढी हो ।
५९ सवारी दुर्घटनामा ७९ सवारी साधन परेका थिए । दुर्घटनामा परेका सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानले बताए ।
दुर्घटनाको विश्लेषण गर्दा तीव्र गतिका कारण बढी दुर्घटना भएको हुन सक्ने उनले बताए । कास्कीमा असोज २३ गते कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए भने १४ जना घाइते भएका थिए ।
प्रहरीका अनुसार तीब्र गतिका कारण २०, मादक पदार्थ सेवन गरी सवारी चलाएका कारण १०, सवारीचालक अनुमतिपत्र नभएका चालकका कारण पाँच, यान्त्रिक समस्याका कारण एउटा र अन्य कारणले २३ वटा दुर्घटना भएको प्रहरीले जानकारी दिएका छ ।
प्रहरीले असोज महिनामा सवारी नियम उल्लंघन गर्नेविरुद्ध चार हजार ७ सय ८५ वटा कारबाही गरेको छ । उक्त कारबाहीबाट ३९ लाख ९८ हजार ५ सय राजस्व संकलन भएको छ ।
यसैगरी, विपद्का घटनामा जिल्लामा दुईजनाको मृत्यु भएको छ । सुक्खा पहिरोमा परेर दुईजना पुरुषको ज्यान गएको थियो । असोज महिनामा कास्कीमा आगलागीका पाँच, अविरल वर्षाका २८, चट्याङका दुई र सुक्खा पहिरोका दुई घटना भएका छन् ।







