
पोखराको कार्कीको तगारामा छिमेकीको हत्या आरोपमा युवक प्रक्राउ
पोखरा, २० असोज/ पोखरा महानगरपालिका वडा नम्बर २४ कार्कीको तगारामा छिमेकीको हत्या आरोपमा प्रहरीले एक जना युवकलाई प्रक्राउ गरेका छ ।
स्थानीय ७२ बर्षका पूर्णभद्र त्रिपाठीलाई सोही ठाउँका ३३ बर्षीय जगत दाहालले बाउसो (कोदालो) र सिसाको बोतलले प्रहार गरेर हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहारबाट गम्भीर घाइते भएका त्रिपाठीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कास्कीका प्रहरीका सूचना अधिकारी विरेन्द्र कुमार पासवानले जानकारी दिए ।
सोमबार चिया पसलबाट घरतर्फ जादै गरेका बृद्ध त्रिपाठीलाई शुरुमा रक्सीको बोतलले टाउकोमा प्रहर गरेको र त्यसपछि बाउसोले हानेर गम्भीर घाइते बनाएका थिए ।
गम्भीर घाइते बनेका त्रिपाठीलाई तत्काल पोखराको सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा उपचारको लागि पु¥याईएको भएपनि चिकित्सकले मृत घोषित गरेका थिए ।
त्रिपाठीलाई घाइते बनाएर फरार रहेका ३३ बर्षीय दाहाललाई प्रहरीले खोजतलास गर्ने क्रममा सोही दिन बेलुका नै पोखरा–२४ स्थित पामे बजार नजिकको पुलबाट नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले घटनास्थलबाट सोही घटनामा प्रयोग भएको १ थान बाउसो (कोदालो) र १ थान सिसाको बोतल बरामद गरेको छ । पक्राउ परेका दाहाल विरुद्ध कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पासवानले जानकारी दिए ।







