
मालपोत कार्यालय कास्की
पोखरा, ९ असार/ पोखरा २६ मा रहेको अमर ज्योती माध्यमिक विद्यालयको जग्गा नक्कली सुकुम्बासी बनाइ हिनामिना गरेको अभियोगमा विशेष अदालतले ६ जनालाई दोषी ठहर गरेको छ ।
कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी सहितका व्यक्तिहरुलाई अदालतले जनही ६ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो ।
विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त राजल र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार निर्णय गरेको हो । दोषी ठहर हुनेहरुमा कास्की मालपोतका पूर्वप्रमुख अधिकारीसहित भूमि आयोगका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोखरेल, सदस्यहरु आशबहादुर गुरुङ, उमाकुमारी थापा र सोमकुमारी नेपाली रहेका छन् ।
यस्तै, नक्कली सुकुम्बासी बनेका भीमबहादुर विकलाई पनि अदालतले सजाय सुनाएको हो । अमर ज्योती माविको ३ रोपनी ३ आना जग्गा कीर्ते गरी व्यक्तिलाई हस्तान्तरण गरिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा गत वर्ष पुस १८ गते मुद्दा दायर गरेको थियो । सरकारी र सार्वजनिक जग्गा जोगाउनुपर्ने दायित्व भएका मालपोतका कर्मचारी र भूमि आयोगका पदाधिकारी नै जग्गा हडप्ने प्रपञ्चमा संलग्न भएकाहरुलाई अदालतले सजाय ठहर गरेको हो ।





