
पदयात्रा पर्यटनका समस्या समाधान गर्न टान गण्डकीको गण्डकी सरकारलाई ध्यानाकर्षण
पोखरा, १५ वैशाख/ ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) गण्डकीले पदयात्रा पर्यटन क्षेत्रमा देखिएका विभिन्न समस्याबारे गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ।
टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले गण्डकी प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाललाई ज्ञापनपत्र बुझाउँदै पदयात्रा पर्यटन क्षेत्रबारे जानकारी गराए ।
संस्थाले विगत ३३ वर्षदेखि नेपालको पर्वतारोहण तथा पदयात्रा पर्यटनको प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको बताउँदै पछिल्लो समय पदमार्गलाई मोटर बाटोले विस्थापीत गरेको आचार्यले बताए । उनले धेरै पदमार्ग सडकका कारण छोटिएको बताए ।
बिना अनुमति पदयात्रा सञ्चालन तथा विदेशी गाइडहरूको अनियमित गतिविधिले पर्यटन क्षेत्र प्रभावित भएको उल्लेख गर्दै यसमा कडाइका साथ नियमन आवश्यक रहेको बताए ।
टानले पदमार्गमा आधारभूत सुविधा, सुरक्षा तथा सूचना केन्द्रहरूको अभाव रहेको औंल्याउँदै पूर्वाधार विकासमा सरकारी लगानी बढाउन आग्रह गरेको छ।
अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी प्रचार–प्रसार हुन नसकेको भन्दै डिजिटल माध्यममार्फत पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा समेत जोड माग गरेको छ ।
टान गण्डकीले पदयात्रा पर्यटन नेपालको प्रमुख आयस्रोत भएकाले यसको दिगो विकासका लागि सरकार, निजी क्षेत्र र सरोकारवालाबीच समन्वय आवश्यक रहेको उनको भनाई छ ।
मन्त्री रिमाले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन सगँ सम्बन्धीत संघसस्था सँगै मिलेर अगाडी बढ्ने बताइन् । उनले संघ सरकारबाट प्रदेश सरकारले धेरै अधिकार पाउन बाँकी रहेका कारणले पनि विकास गर्न अप्ठेरो परेको बताइन् ।





