
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ७५ करोड लागतमा इन्धन डिपो निमार्ण
पाोखरा, १९ असार / पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन डिपो निमार्ण भएको छ । नेपाल आयल निगमले ७५ करोड लागतमा विमानस्थल परिसरभित्र डिपो सञ्चालनमा ल्याएको हो ।
निगमका अनुसार ५५ वर्षको इतिहासमा पहिलो पटक शतप्रतिशत स्वदेशी परामर्शदाता, स्वदेशी निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आधुनिक सुविधा सम्पन्न हवाई इन्धन डिपो निर्माण गरेको बताएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान चाप मध्यनजर गर्दै १ हजार २ सय किलोलिटर क्षमताको ३ वटा भण्डारण गृह निमार्ण भएको छ । यसमा ३ हजार ६ सय किलोलिटर हवाई इन्धन भण्डारण गर्न मिल्ने परियोजनाका प्रमुख प्रदिपकुमार यादवले जानकारी दिए ।
त्यस्तै डिपो सुरक्षामा उच्च सतर्कता अपनाउन १ हजार २ सय किलोलिटर क्षमताको अलग्गै पानी ट्यांकी निर्माण भएको उनले बताए । पानी ट्यांकीसँग डिपोको वरिपरि जडान गरिएको फायर फाइटिङ संरचन आबद्ध गरिएको छ ।
हवाई इन्धन जस्तो अतिप्रज्वलनशील पदार्थको नियमित कारोबार हुँदा आगलागीको जोखिम हुन सक्ने कुरा मध्यनजर गर्दै ४ हजार लिटर क्षमताको ‘फोम स्टोरेज’ ट्यांकसमेत निर्माण गरिएको छ । यसलाई फायर फाइटिङ संरचनासँग आबद्ध गरिएकाले पानीको फोहोरासँगै फोम पनि मिसिएर प्रवाह हुने र तत्कालै आगलागीजन्य घटना निस्तेज पार्न सहयोग मिल्ने गरेको विश्वव्यापी अभ्यास छ ।
यस डिपोमा फायर फाइटिङ प्रयोजनका लागि २३० हर्सपावर क्षमताको दुइटा फायर फाइटिङ डिजेल पम्प, १५ हर्स पावर क्षमताको एउटा जक्की पम्प र ८ इन्चको पाइप जडित छ ।






