गण्डकी धौलागिरी पेट्रोलियममा मोहन सुबेदी

-


     क्लिक गण्डकी     
     माघ २८ गते २०८१ मा प्रकाशित


गण्डकी धौलागिरी पेट्रोलियममा मोहन सुबेदी

गण्डकी धौलागिरी पेट्रोलियममा मोहन सुबेदी

पोखरा, २८ माघ/ गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

अध्यक्षका प्रत्यासी सुरेन्द्ररमण पराजुलीलाई पराजित गर्दै सुवेदी निर्वाचित भए । उपाध्यक्षमा जयमोहन भट्टराई, महासचिव सुजन बराल, उपमहासचिव नवराज पौडेल र कोषाध्यक्ष सुमन श्रेष्ठ निर्विरोध चयन भए ।

सदस्य भूगोल गुरुङ, सन्तोष बराल, विप्लव हमाल, विजय अर्याल र ईश्वर पौडेल चयन भएको निर्वाचन समिति संयोजक सुमन भट्टराईले जानकारी दिए । अध्यक्षबाहेक अन्य सबै पदमा सर्वसम्मत् भएको हो ।

कार्यक्रम उद्घाटन गर्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले पेट्रोलियम पदार्थको व्यापार २५ प्रतिशतले घटेको बताए । सरकारको पुँजीगत खर्च कम हुनु, नेपाल भारत खुला सिमाना र विद्युतीय गाडीको व्यापारसँगै पेट्रोलियम व्यवसायीको लगानी धरापमा परेको उनले बताए ।

कार्यक्रममा राष्ट्रिय एसोसिएसनका वरिष्ठ उपाध्यक्ष सुनिल गुरुङले पैसा कमाउने लोभमा बदनाम हुनेगरी कारोबार नगर्न व्यवसायीलाई सुझाव दिए । ग्राहकमैत्री व्यवहार र गुणस्तरमा ध्यान दिन उनको आग्रह थियो ।

गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसन अध्यक्ष राजन गोगंजुको अध्यक्षतामा भएको कार्यक्रममा नापतौल तथा गुणस्तर कार्यालय पोखराका प्रमुख मनोज पोखरेल, नेपाल आयल निगम गण्डकी प्रदेश डिपो गगनगौंडाका नि.प्रमुख परशुराम अधिकारी, एशोसिएसन केन्द्रीय सदस्य एवं गण्डकी संयोजक सुशील गौचन, ट्यांकर एसोसिएसन उपाध्यक्ष धु्रव गौतम, निर्वाचन समितिका संयोजक सुमन भट्टराई, भलाइ कोषका संयोजक जयमोहन भट्टराई, चालक संघका सुमन गुरुङ, पेट्रोलियम मजदुर संघका दुर्गा कँडेल, सल्लाहकार नवीन बराल लगायतले पेट्रोलियम व्यवसायीको पछिल्लो समयमा देखीका चुनौतीका बारेमा चर्चा गरेका थिए ।