सोमबार छविको बयान सकिएन, छविको पछि बल्ल अरुको पालो

-


     क्लिक गण्डकी     
     पौष ८ गते २०८१ मा प्रकाशित


जिल्ला अदालत कास्की

जिल्ला अदालत कास्की

पोखरा, ८ पुष/ सहकारी ठगि प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने सहित ५ जनाको बयान सुरु भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सुरु भएको बयानमा पहिलो दिन पूर्व डीआइजी छविलाल जोशीको बयान भएको छ ।

सोमबार छविलालको बयान भएको र बयान पूरा नभएकाले मंगलबार पनि उनकै बयान हुने अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । छविलालको बयान सकिएपछि मात्रै अन्यको बयान सुरु हुनेछ ।

पूर्वगृहमन्त्री लामिछाने सहित पाँचै जनालाई जिल्ला अदालत कास्की लगिएको थियो । यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने सहित ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो ।

लामिछाने माथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । लामिछानेलाई सम्पत्ति शुद्धीकरण र सहकारी ठगिमा ३० करोड बढि माग दाबी गरिएको छ ।

त्यस्तै, गोर्खा मिडियामा उनका साझेदार छविलाल जोशीलाई सम्पत्ति शुद्धीकरण मात्र ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा बिगो माग दाबी गरिएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण समेतका मुद्दामा थप ४४ जनालाई प्रतिवादी बनाएर कुल १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ माग दाबीसहित ६३ जनालाई प्रतिवादी बनाएको छ ।

सहकारी ठगीमा ३१ जना, संगठित अपराधमा १९ जना र सम्पत्ति शुद्धीकरणमा ४ जनालाई प्रतिवादी बनाइएको छ । विभिन्न ८ वटा कम्पनी विरुद्ध पनि मुद्दा दायर छ । ५ जनाको सम्पत्ति जफत गर्नुपर्ने भन्दै मुद्दा दायर छ ।