
पोखरामा नियमीत अन्तर्राष्ट्रिय उडानका लागि व्यवसायीको प्रधानमन्त्रीलाई आग्रह
पोखरा, ५ मंसिर/ प्रधानमन्त्री केपी शर्मा ओलीलाई गण्डकी प्रदेश सरकारका मन्त्री र पोखराका पर्यटन व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्रीलाई प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल सहितको टोलीले नियमीत उडानको लागि प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।
मन्त्री बस्यालले गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा पर्यटन वृद्धिका लागि अन्तर्राष्ट्रिय उडान हुनुपर्नेमा जोड दिँदै केन्द्र सरकारबाट पनि देशकै पर्यटकीय राजधानीका रूपमा घोषित गर्न माग गरे ।
प्रधानमन्त्री ओलीले सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा चीन भ्रमणका क्रममा पर्यटक बढाउने विषयमा चीनलाई आग्रह गर्ने बताए । उनले पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्ने पनि बताए ।
भेटका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डे, प्रदेशको मन्त्रालयका सचिव कुमानसिंह गुरुङ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य लगायत सहभागी थिए ।





