
पोखरामा हतियार देखाई लुटपात गर्ने ५ जना पक्राउ
पोखरा, २८ साउन/ पोखरा ६ लेकसाईड स्थितमा २० बर्षीयकी एक महिलालाई बाटोमा हिँडिरहेको अवस्थामा लुटपाट गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्कुटर र मोटरसाईकलमा अपरिचित ब्यक्तिले धारिलो हतियार चक्कु देखाई घाँटीमा राखि डर त्रासमा पारी महिला सगँ भएको गहना र पैसा लुटेका थिए । दुई तोला बराबरको सुनको सिक्री एउटा, नगद १२ हजार र लेदरको कालो रङको ज्याकेट लुटी फरार भएका थिए ।
प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले उक्त घटनामा संलग्न जिल्ला कास्की पोखरा महानगरपालिका वडा १८ मा बस्ने ३७ बर्षीय देवन गुरुङ, १९ बर्षीय आजित रुचाल भन्ने हितमान सार्की, तनहुँ ब्यास नगरपालिका वडा ३ घर भई जिल्ला कास्की पोखरा ५ बस्ने १८ बर्षीय अनिश भट्टलाई पक्राउ गरेको छ ।
घटनामा प्रयोग भएको ग ८ प ६९२४ नम्बरको स्कुटर र ग ११ प ९८२७ को मोटर साइकल सहित पक्राउ गरी खानतलासी गर्दा निजहरूको साथबाट सुनको सिक्री बिक्री गरी आएको रकम १ लाख ३ हजार ५ सय बरामद गरेको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान गर्दा सुनको सिक्री किन्ने पोखरा ४ गणेशटोल बस्ने बिकास सुन चाँदी पसलका संचालक नारायण प्रसाद बिक र एस पि मान्मा ज्वेलर्सका संचालक प्रशान्त मान्मा समेतलाई पक्राउ गरेको छ ।
उनीहरुलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले कास्कीका प्रहरी प्रवक्ता बसन्त शर्माले जानकारी दिए ।





