
मदरल्याण्ड माविका १० विद्यार्थीलाई ४ जिपिए
पोखरा, १३ असार/ माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८० को नतिजामा मदरल्याण्ड माविका १० जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् । पोखरा ७ मासबारस्थित मदरल्याण्डको यो नतिजा हालसम्म प्राप्त विवरणअनुसार नेपालमै उत्कृष्ट हो ।
नेपालभरबाट मात्र १८६ जनाले ४ जिपिए ल्याएका हुन् । ४ जिपिए ल्याउनेमा कृपा बराल, रेडियस पोख्ररेल, कनक अधिकारी, अपेक्षा ढुंगाना, आशीष बस्ताकोटी, कृपा गुरुङ, इक्वीटी पौडेल, अभ्यास वाग्ले, युनिका ढकाल र समीक्षा पहारी छन् ।
विद्यालयबाट १४६ जना परीक्षार्थीले भाग लिएकोमा ३.६० देखि ४ जिपिएसम्म ल्याउने १२८ जना र ३.२० देखि ३.६० सम्म ल्याउने १८ जना रहेको प्लस टु इन्चार्ज नारायण आचार्यले बताए ।
गत वर्ष एसइईमा २ जना विद्यार्थी सुदेश आचार्य र जोन रानाले पनि ४ जिपिए ल्याएका थिए । त्यसबेला कास्कीबाट मात्र ३ जनाको ४ जिपिए आएको थियो ।
२०७५ सालको एसइईमा ७ जनासम्म विद्यार्थीको ४ जिपिए आएको थियो । त्यसयता सबैभन्दा धेरै १० जनाको यसपालि ४ जिपिए आएकोमा विद्यालय परिवार निकै खुसी भएको प्राचार्य नारायण बराल बताए ।
मदरल्याण्डले हरेक वर्षजसो उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । गत वर्ष कक्षा १२ को बोर्ड परीक्षामा समेत ३ जना विद्यार्थीले नेपाल टप गरेका थिए ।
व्यवस्थापन संकायका राजेश पौडेल, विज्ञान संकायका जीवन अधिकारी र कृतिका थापा गरी ३ जनाले नेपालमै उत्कृष्ट ३.९६ जिपिए ल्याएपछि विद्यालयले उनीहरुलाई जनही २ लाखसहित पुरस्कृत गरेको प्लस टु इन्चार्ज नारायण आचार्यले बताए ।





