चिसाखोला वेद विद्याश्रमको रजत स्मारिका लोकार्पण

-


     क्लिक गण्डकी     
     वैशाख २९ गते २०८१ मा प्रकाशित


चिसाखोला वेद विद्याश्रमको रजत स्मारिका लोकार्पण

चिसाखोला वेद विद्याश्रमको रजत स्मारिका लोकार्पण

पोखरा, २९ वैशाख/ पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा–१८, चिसाखोला आश्रम कास्कीको औपचारिक स्थापनाको २५ वर्ष पुगेको अवसरमा हालसम्म भएका गतिविधि समेटेर प्रकाशन गरेको रजत स्मारिका २०८० स्वामी निःशेषानन्द, विन्ध्यवासिनी पीठाधीसले लोकार्पण गरे ।

कार्यक्रममा स्वामी निःशेषानन्दज्यूले वैदिक संस्कार, संस्कृतिको जगेर्नामा वेद विद्याश्रमको योगदानको प्रशंसा गर्दै चिसाखोला विद्याश्रममा आउँदा गुरुकुलीय वातावरणले आनन्द अनुभूति हुने वताए ।

ज्योतिष शिरोमणि प्रा.डा. बलराम उपाध्याय रेग्मीले स्मारिकाले आर्थिक पारदर्शिता देखाउने भन्दै सबैलाई वेदको रक्षामा लाग्न आग्रह गरे । सोही अवसरमा ५ लाख भन्दा माथि अक्षयकोष दानदिने दातालाई मानार्थ प्रमुख संरक्षक, १ लाख भन्दा माथि अक्षयकोष दान दिने दातालाई मानार्थ संरक्षक र ५० हजार भन्दा माथि अक्षयकोष दान दिने दातालाई मानार्थ आजीवन सदस्यको प्रमाण पत्रद्वारा सम्मान गरियो ।

विद्याश्रमले स्थापनाकालदेखि सक्रिय सहयोग गर्ने २० जनालाई सम्मानपत्र, दोसल्ला र करुवा सहित सम्मान, रजत कार्यक्रम अन्तर्गत प्रदेश व्यापी खुल्ला छन्दोबद्ध कविता प्रतियोगितामा प्रथम हुने संयोग वस्याल, द्वितीय हुने निकेश गिरी, तृतीय हुने नवराज अधिकारी र सान्त्वना हुने सुशिला पौडेल पहारीलाई क्रमशः ११ हजार, ८ हजार, ५ हजार र ३ हजार नगद सहित प्रमाणपत्र र दोसल्लाद्वारा पुरस्कृत गरियो ।

वेद विद्याश्रमका प्रमुख संरक्षक एवं संस्थापक अध्यक्ष मोक्षनाथ तिमिल्सिनाले विद्याश्रमको औपचारिक स्थापनादेखि हालसम्म दान दिने दाता, सहयोग गर्ने महानुभावलाई धन्यवाद व्यक्त गर्नुभयो ।

पोखरा चिसाखोला वेद विद्याश्रमको प्राङ्गणमा भएको कार्यक्रमा चर्चित कविता वाचक शिव त्रिपाठीले कविता बाचन, झपटबहादुर थापा, केशवप्रसाद अम्गाईँ लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो । विद्याश्रम कार्य समिति अध्यक्ष मणिरत्न अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य वि.व्य.स. अध्यक्ष गोपाल तिमिल्सिना र संचालन सचिव गंगासागर उपाध्यायले गरेका थिए ।