
सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन पोखरा महानगर हुदै प्रहरीमा बुझाइयो
पोखरा, २८ वैशाख/ सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गठित समितिले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाएको छ । विज्ञ टोलीले करिब ४ महिना लगाएर तयार पारेको ३४१९ पृष्ठ लामो प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाइएको हो ।
बिहीबार साँझ पोखरा महानगरपालिका कार्यालयमा आयोजित समारोहमा महानगर प्रमुख धनराज आचार्यले जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्तकुमार शर्मालाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
मेयर आचार्यले प्रतिवेदनका आधारमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गर्ने बताए । यसअघि बुझाइएको ४५० पृष्ठको प्रतिवेदन भन्दा अहिलेको प्रतिवेदनमा थप अनुसन्धान सहित विस्तृत अध्ययन गरिएको अनुसन्धानमा सहभागी सहकारी विज्ञ दीपक प्रकाश आचार्यले बताए ।
प्रतिवेदन तयारका लागि पोखरा महानगरपालिका सहकारी समितिले सहकारी विज्ञ, चार्टर्ड एकाउन्ट, राष्ट्रिय अनुसन्धानका अधिकारी, प्रहरी लगायतलाई राखेर गत २० माघदेखि काम थालेको थियो । जसमा सहकारी समितिका तर्फबाट दीपकप्रकाश आचार्य र चार्टर्ड एकाउन्टेन्ट इन्जिनियर अनिल लामिछाने विज्ञको रुपमा थिए ।
प्रतिवेदनमा के छ भन्ने कुराको विस्तृत विवरण प्रहरीको अनुसन्धान प्रतिवेदन अदालतमा छिरिसकेपछि मात्र आउने बताइएको छ ।
सूर्यदर्शनको सञ्चालक समितिका पदाधिकारीहरु समेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरीअनुसार गत साउन २२ मा सहकारी ठगीसम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयले १९ जनालाई प्रतिवादी बनाई १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो भराई बिगोबमोजिम जरिवाना र ८ देखि १० वर्षसम्म कैद सजाय माग दाबीसहित जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।
१९ जनामध्ये सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १५ जना अझै फरार छन् । सहकारीले आर्थिक हिनामिना गरेपछि १८ हजार ७ सय जना बचतकर्ताको बिचल्ली भएको छ ।







