
गण्डकी प्रदेशसभा
पोखरा, ५ बैशाख/ गण्डकी प्रदेश प्रदेश प्रमुख डिल्लीराज भट्टले बैशाख ७ गते गण्डकी प्रदेश सभा अधिवेशन आह्वान गरेका छन् । शुक्रबार ३ बजेदेखि बैठक बस्ने गरी अधिवेशन आह्वान गरेका हुन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख ७ गते विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।
मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि नै विश्वासको मत लिने तयारीमा छन् ।
सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा दाबी गरेको र सोही दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै नेपाली कांग्रेस २७ चैतमा सर्वोच्च मुद्धा दायर गरेको थियो ।
सर्वोच्च अदालतले २८ चैतमा मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको थियो ।
कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा दायर गरेको रिटमा १० वैशाखमा पेशी तोकिएको छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा एमाले २२, माओवादी ८, राप्रपाका २ र स्वतन्त्र सांसद एक जना छन् । गण्डकी प्रदेश सभाको बैठक बोलाइएको विषयमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
मुख्यमन्त्री नियुक्तिका विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा प्रदेश सभाको अधिवेशन बोलाउनु गलत भएको नेपाली कांग्रेस जनाएको छ ।





