गण्डकीमा खगराज अधिकारी मुख्यमन्त्री

-


     क्लिक गण्डकी     
     चैत्र २५ गते २०८० मा प्रकाशित


खगराज अधिकारी

खगराज अधिकारी

सागर राज तिमिल्सिना
पोखरा, २५ चैत/ गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पद तथा गोपनियताको शपथ गराए ।

मुख्यमन्त्रीसँगै माओवादीका हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीब गुरुङ उर्फ दिपक मनाङेले विनाविभागीय मन्त्रीको शपथ लिए ।

आइतबार बिहान गण्डकी प्रदेश, एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल समेतको समर्थन लिएका थिए । विश्वासका मत लिने बेला सम्म सबै मिल्ने उनले बताए ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका थिए । त्यस पछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार चैत २७ गते ३ बजेभित्र दाबी पेश गर्ने समय दिएका थिए ।

अधिकारीलाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जना सांसदको समर्थन प्रदेश प्रमुखलाई बुझाएका थिए ।

सभामुख कृष्ण धितालले पनि माओवादी संसदीय दलकै सदस्यका हैसियतले खगराजलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेपछि कांग्रेसले यसलाई असंवैधानिक कदम भनेको छ ।

गण्डकी प्रदेशमा नेकपा एमाले, माओवादी र एकीकृत समाजवादीका सांसदले मुख्यमन्त्रीमा खगराज अधिकारीलाई नियुक्त गर्न पेश गरेको दाबी असंवैधानिक रहेको काग्रेस गण्डकीका प्रमुख सचेतक नन्दु प्रसाद न्यौपानेले बताए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सत्ता गठबन्धनमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र एक सांसद छन् । यसैगरी सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् । गण्डकीमा सत्ताको चाबी रहेको राप्रपाले आन्दोलनलाई देखाउँदै सत्ताकेन्द्रित गतिविधिमा सामेल नहुने बताउँदै आएको छ ।

यसअघि कोशीमा सभामुखलाई समेत सत्ता निर्माणमा प्रयोग गरिएको भन्दै सर्वोच्चमा परेको रिटको फैसलामा सभामुखलाई समावेश गर्न नपाइने नजीर बसाले काग्रेसको भनाई छ ।



Tags: