
गण्डकीमा बहुमतको सरकार गठनका लागि ७ दिनको समय, मुख्यमन्त्री पाण्डेद्धारा राजीनामा
पोखरा, २१ चैत/ गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकार गठनको आह्वान गरेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान गरेका हुन् । बहुमत प्राप्त गर्न सक्ने दलले चैत २७ गते दिउँसो ३ बजेभित्र दाबी पेश गर्न आह्वान गरेका छन् । गण्डकी प्रदेशमा अब कस्को सरकार बन्लात ? अंक गणित दावीहरु आफ्नै छन् ।
केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फागुन २२ गते माओवादी केन्द्रका मन्त्रीहरु बर्खास्त गरेका थिए । त्यसपछि २३ फागुनमा माओवादीले उनलाई दिएको समर्थन फिर्ता लिएको थियो । संवैधानिक प्रावधान अनुसार २२ चैतभित्र विश्वासको मत लिनुपर्ने भए पनि पाण्डेले विश्वासको मत पाउने सम्भावना नरहेको भन्दै बुधबार राजीनामा दिएका छन् । राजीनामा दिएपछि मुख्यमन्त्री पाण्डेले नेपाली काग्रेसले बुहुमत पु¥याएर सरकार बनाउन लाग्ने बताए ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा (एमाले) का २२, नेकपा (माओवादी केन्द्र) का सभामुखसहित आठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई र एक जना स्वतन्त्र सांसद छन् । मुख्यमन्त्रीका लागि दाबी पेस गर्न ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । नयाँ गठबन्धनमा रहेका एमाले र माओवादीसँग ३० सांसद छन् ।
त्यसमा पनि सभामुखले हस्ताक्षर गर्न नपाउने व्यवस्था छ । प्रदेश सभामा ठूलो दल कांग्रेससँग २७ जना सांसद छन् । स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेको पनि समर्थन रहेकोले सांसद सख्या २८ पुग्छ । राप्रपाका दुई सांसदले समर्थन गरेमा पनि ३० जनामात्रै पुग्छ । गण्डकीमा प्रदेशमा एमाले नेतृत्वमा सरकार बन्ने एमालेको दावी छ ।
गण्डकी प्रदेशको राजनीतिको चाबी लिएर बसेको राप्रपा अहिले आन्दोलनमा छ । राप्रपाले चैत २७ मा काठमाडौ केन्द्रित आन्दोलनको मिति घोषणा गरिसकेको छ । त्यसअघि सत्ता समीकरणमा कुनै चासो नहुने राप्रपाले बताउदै आएको छ । राप्रपाले समर्थन गरे काग्रेस सँग ३० सिट पुग्ने छ । माओवादीको चुनाव चिन्हबाट निर्वाचन जितेका नेपाल समाजवादी पार्टीका नेता फडिन्द्र देवकोटाले आफू अलग हुन पाउनुपर्ने माग राखिरहेका छन् ।
राप्रपाले पाण्डेलाई साथ दिए बहुमत पु¥याउन फडिन्द्रले ‘फ्लोर क्रस’ गर्ने सम्भावना छ । नयाँ गठबन्धन वा नेपाली काग्रेस सहितले नयाँ सरकार बनाउन राप्रपा नै आवश्यक छ । धारा १६८ (२) अनुसार सरकार बन्न नसके धारा १६८ (३) अनुसार पाण्डे नै ठुलो दलको हैसियतमा एक महिनालाई मुख्यमन्त्री बन्ने छन् । त्यसमा पनि नबनेमा धारा १६८ (५) अनुसार बहुमत पु¥याउने स्वतन्त्र व्यक्ति मुख्यमन्त्री बन्ने छ ।





