पोखरा–जोमसोम हवाई सेवा नियमित गर्न टान गण्डकीको माग

-


     क्लिक गण्डकी     
     कार्तिक ३ गते २०८३ मा प्रकाशित


पोखरा–जोमसोम–पोखरा हवाई सेवा नियमित गर्न टान गण्डकीको माग

पोखरा–जोमसोम–पोखरा हवाई सेवा नियमित गर्न टान गण्डकीको माग

पोखरा, २ कात्तिक/ पोखरा–जोमसोम–पोखरा हवाई सेवा नियमित गर्न टान गण्डकीको माग गरेको छ । दुर्गम क्षेत्रको हवाई उडान स्थगन गरेको प्रर्ति टान गण्डकीले ध्यानाकर्षण गराएको हो ।

दुर्गम क्षेत्रको हवाई उडान स्थगन गर्दा पर्यटन, यात्रु आवागमन तथा आपत्कालीन उद्धारमा समस्या बढ्ने भन्दै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), गण्डकीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

समिट एयर लिमिटेडले अक्टोबर २१, २०२६ देखि पोखरा–जोमसोम–पोखरा उडान अर्को सिजनसम्म सञ्चालन नगर्ने तथा तारा एयर प्रालिले अक्टोबर १९ देखि अर्को सूचना जारी नभएसम्म जोमसोम आवतजावतका उडान स्थगन गर्ने बताए पछि टान गण्डकीले चिन्ता व्यक्त गरेको हो ।

पोखरा–जोमसोम हवाई मार्ग मुस्ताङ, कागबेनी तथा प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ पुग्ने स्वदेशी तथा विदेशी पर्यटक, पदयात्री र तीर्थयात्रीका लागि महत्वपूर्ण यातायातको माध्यम रहेको बताउदै टान गण्डकीका अध्यक्ष तीर्थराज सुबेदी विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण गरेका छन् ।

कालीगण्डकी नदीमा आएको बाढी तथा पहिरोका कारण बेनी–जोमसोम–कोरला सडकखण्ड क्षतिग्रस्त भई सडक यातायात समेत प्रभावित भइरहेको अवस्थामा हवाई सेवा स्थगनले यात्रु आवागमन थप कठिन बनाउने सुबेदीको भनाई छ ।
विज्ञप्तिमा हवाई सेवा बन्द हुँदा आकस्मिक बिरामी, दुर्घटनामा परेका व्यक्ति तथा प्राकृतिक विपद्का पीडितको उद्धारमा समेत गम्भीर चुनौती उत्पन्न हुन सक्ने उल्लेख गरिएको छ ।

अन्नपूर्ण चक्रीय पदमार्ग र उपल्लो मुस्ताङ गण्डकी प्रदेशका महत्वपूर्ण अन्तर्राष्ट्रिय पर्यटन गन्तव्य हुन् । यी क्षेत्रको पदयात्रा, प्राकृतिक तथा सांस्कृतिक सम्पदा र धार्मिक पर्यटनमा हवाई सेवाको सहज उपलब्धताले प्रत्यक्ष प्रभाव पार्ने उनले बताए ।
उडान स्थगनले पर्यटकको पूर्वनिर्धारित यात्रा प्रभावित हुने, होटल व्यवसायी, पदयात्रा मार्गदर्शक, भरिया तथा स्थानीय समुदायको रोजगारी र आयआर्जनमा असर पर्ने सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ । निजी वायुसेवा कम्पनीको उडान स्थगित हुँदा वैकल्पिक सेवा उपलब्ध गराउन नेपाल वायुसेवा निगमको दुर्गम क्षेत्रमा उडान भर्न सक्ने जहाज तथा सञ्चालन क्षमता पर्याप्त नहुँदा समस्या थप जटिल बन्न सक्ने उनको भनाई छ ।

टानले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम तथा सम्बन्धित वायुसेवा कम्पनीलाई उडान स्थगनसम्बन्धी निर्णय पुनरावलोकन गरी पोखरा–जोमसोम–पोखरा लगायत दुर्गम क्षेत्रका हवाई उडान यथाशीघ्र नियमित गर्न माग गरेको छ ।