
शव
पोखरा, २२ असोज/ पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ।
अधेरीकुनास्थित एक घरको जग खन्ने क्रममा करिब ७ फिट गहिरो खाल्डोमा काम गरिरहेका दुई जनाको माटोको ढिस्को खसेर पुरिएका थिए।
माटोमा पुरिएर घाइते भएका पर्वतको महाशिला गाउँपालिका–६ फलामखानीका २९ वर्षीय विक्रम सुनारलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो। उनको उपचारकै क्रममा साँझ ५ः०४ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरी गोरखाको पालुङटार नगरपालिका–७ पालुङटारका ३७ वर्षीय राजु कुमाललाई पनि उद्धार गरी मणिपाल शिक्षण अस्पताल लगिएको थियो। अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा साँझ साढे ६ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनापछि वडा प्रहरी कार्यालय बगर र सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण पोखराबाट खटिएको टोली र स्थानीयको संयुक्त प्रयासमा माटो पन्छाएर दुवै जनाको उद्धार गरिएको थियो।







