
घरेलु मदिरा र राईड शेयरिङ सञ्चालनमा सहजीकरण गर्न संघ सरकारलाई गण्डकी प्रदेशका मुख्यमन्त्रीको आग्रह
पोखरा, १७ असोज/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेट गरी घरेलु मदिरा सम्बन्धी कानुन कार्यान्वयनमा संघीय अन्तःशुल्क सम्बन्धी व्यवस्था स्पष्ट नहुँदा समस्या देखिएको बताएका छन् ।
‘प्रदेश सरकारले कानुन बनाएर कार्यान्वयनमा लैजान खोजेको छ । तर अन्तःशुल्कसम्बन्धी अधिकार संघ सरकारको भएकाले त्यस विषयमा स्पष्टता नहुँदा कार्यान्वयनमा समस्या देखिएको छ,’ उनले । प्रदेश सरकारको कानुन कार्यान्वयनमा देखिएको अन्तःशुल्कसम्बन्धी समस्या समाधानका लागि आवश्यक सहजीकरण गरिदिन पाण्डेले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग आग्रह गरे ।
यस्तै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले देशमै पहिलोपटक राइड शेयरिङ सेवालाई व्यवस्थित गर्ने गरी कानुनी तथा नीतिगत प्रक्रिया अघि बढाएको तर कार्यान्वयनमा संघ सरकारबाटै समस्या देखिएको बताए ।
राइड शेयरिङ प्रदेशको एकल अधिकारको विषय भएकाले प्रदेश सरकारले आवश्यक कानुनी व्यवस्था गरी कार्यान्वयनमा लैजान खोजेको उनले बताए। संघीय सरकारका विभिन्न कार्यालयबाट जारी भएका परिपत्र तथा निर्देशनका कारण कार्यान्वयनमा देखिएको अन्योल हटाउन आवश्यक समन्वय गरिदिन पूर्वाधार मन्त्री सुनिल लम्साललाई उनले आग्रह गरे ।
त्यसैगरी, औषधि तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीसम्बन्धी कानुन निर्माण गरी प्रदेश सरकारले प्रक्रिया अघि बढाएको जानकारी दिँदै यस क्रममा देखिएका कानुनी तथा प्रशासनिक चुनौती समाधानका लागि संघीय सरकारबाट आवश्यक सहजीकरण गर्न मुख्यमन्त्री पाण्डेले ध्यानाकर्षण गराए ।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा अन्तःशुल्क लगायतका विषयमा आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।
यस्तै, भौतिक पूर्वाधार विकासमन्त्री लम्सालले राष्ट्रिय राजमार्गमा बाढीपहिरोका कारण पुगेको क्षतिको मूल्याङ्कन भइरहेको र आवश्यक प्रक्रिया पूरा गरी मर्मत तथा पुनर्निर्माणको काम छिटो अघि बढाउने बताए । राइड शेयरिङसम्बन्धी विषयमा प्रदेशको समस्या समाधान गर्ने गरि सहजिकरण गर्ने र कार्यान्वयनका लागि आवश्यक वातावरण तयार गर्ने बताए ।







