
लेकसाइड होटलियर्स क्लबद्वारा आपतकालीन शव व्यवस्थापन गृहका लागि १ लाख १ हजार सहयोग
पोखरा, २६ भदौ/ लेकसाइड होटलियर्स क्लबले पोखरामा आपतकालीन शव व्यवस्थापन गृह निर्माण तथा व्यवस्थापनका लागि १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई क्लबका अध्यक्ष सुनिल पौडेल शर्मा लगाएतका टोलीले रकमको चेक हस्तान्तरण गरेका छन् । चेक हस्तान्तरण कार्यक्रममा कास्कीका प्रहरी उपरीक्षक नवीन कार्की तथा लेकसाइड होटलियर्स क्लबका कार्यसमिति सदस्यहरूको उपस्थिति समेत सहभागी थिए ।
क्लबका अध्यक्ष शर्माले पोखरामा आपतकालीन अवस्थामा शव व्यवस्थापनका लागि आवश्यक शव व्यवस्थापन गृहको अभाव रहेको र यसको निर्माण तथा व्यवस्थापनमा सहयोग आवश्यक रहेको थाहा पाए पछि सहयोग गरेको बताए ।
रुसुवामा गएको बाढी प्रभावितका आफन्तलाई निःशुल्क आवास र खाना व्यवस्था गरेका क्लबका सचिव झलकप्रसाद तिवारीले जानकारी दिए । भदौ १० गते आएको विनाशकारी बाढीमा हराएकाहरूको शव पहिचानका लागि पोखरा आएका करिब ५ सय जना आफन्तजनलाई क्लबका सदस्य होटलहरूले आवश्यकता अनुसार निःशुल्क कोठा तथा खाना उपलब्ध गराएको बताए ।
यसअघि पनि क्लबका सदस्यहरूले क्लबको आह्वानमा प्रधानमन्त्री राहत कोषमा उत्साहजनक रूपमा राहत रकम उपलब्ध गराउँदै आएको जनाइएको छ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुङले क्लबको सामाजिक कार्यको प्रशंसा गर्दै आभार व्यक्त गरे। उनले आगामी दिनमा पनि क्लबले सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने अपेक्षा व्यक्त गरे। २०८० सालमा स्थापना भएको लेकसाइड होटलियर्स क्लबमा हाल ७० वटा सदस्य होटल आबद्ध छन्।





