
लेकसाइडमा हुने रात्रिकालीन् होहल्ला र ध्वनि प्रदूषण नियन्त्रण गर्न माग
पोखरा, २८ साउन/ पर्यटकीय क्षेत्र लेकसाइडमा रातको समयमा हुने होहल्ला र ध्वनि प्रदूषण नियन्त्रण गर्न स्थानीयले माग गरेका छन् । लेकसाइडमा २४ सै घण्टा व्यवसाय सञ्चालन गर्ने थाले पछि होहल्ला र ध्वनि प्रदूषण बढाएको भन्दै स्थानीयबासीले रात्रिकालीन व्यवसायलाई व्यवस्थित गर्न माग गरे ।
उनीहरूले रातभर व्यवसाय सञ्चालन गर्न ४२ बुँदे आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्नु पर्ने उनीहरुको भनाई छ । जिल्ला प्रशासन कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा नागरीकले राति कालिन व्यवसायमा ४२ बुँदे आचारसंहिता कडाइका साथ लागु गर्न माग गरे ।
खहरे आमा समूहकी पूर्व अध्यक्ष मैया थापाले रात्रिकालीन व्यवसायमा आचारसंहिता कडाइ गर्न माग गरिन् । उनले रातभर डिस्को, बारहरु खोल्दा विकृति बढेको आरोप लगाइन् । ‘लेकसाइड क्षेत्रलाई रातभर खुल्ला राख्दा जाँड रक्सी खाने होहल्ला गर्नेको संख्या बढेर शान्ति सुरक्षालाई असर ग¥यो,’ उनले भनिन्, ‘डिस्को डान्सबार राति ११ बजेपछि बन्द गर्ने व्यवस्था गर्न आवश्यक छ ।’ रातको समयमा हुने होहल्ला र गुण्डागर्दी नियन्त्रण गर्नुपर्ने उनको माग थियो ।
जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका तथा पर्यटन व्यवसायीबीच भएको सहमतिअनुसार लेकसाइड, ड्यामसाइड लगायत केही क्षेत्रलाई ४२ बुँदे आचारसंहिता पालना गर्ने सर्तमा २४ सै घण्टा सञ्चालन गर्न दिने निर्णय भएको थियो । पर्यटन संघसंस्थाहरूले सुरक्षा, ध्वनि नियन्त्रण र आन्तरिक व्यवस्थापनका विषय समेटेर आचारसंहिता पालना गर्नुपर्ने माग र व्यवस्था गर्दै आएका छन् । तर, प्रभावकारी अनुगमन नहुँदा सहमति कार्यान्वयन हुन नसकेको व्यवसायीको गुनासो छ ।
आचारसंहितामा अनिवार्य रूपमा उच्च गुणस्तरको सिसीटीभी जडान गरी फुटेज सुरक्षित राख्ने व्यवस्था छ । शान्ति सुरक्षामा खलल नपुग्ने गरी आन्तरिक सुरक्षा गार्ड वा स्वयंसेवक राख्नुपर्ने व्यवस्था पनि गरिएको छ । त्यस्तै, ध्वनि तथा मर्यादासम्बन्धी नियमअनुसार तोकिएको डेसिबलभन्दा बढी चर्को आवाजमा संगीत बजाउन नहुने र छिमेकी वा आवासीय क्षेत्रमा ध्वनि प्रदूषणबाट असर नपु¥याउने व्यवस्था छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले आचारसंहिताको पूर्ण रूपमा कार्यान्वयन भए सबै समस्या समाधान हुने बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा खुलेको अवस्थामा होटल व्यवसाय पनि खुल्नुपर्ने उनको तर्क छ । होटल संघ पोखराका कोषाध्यक्ष नेत्र पौडेलले ४२ बुँदे मापदण्डको पालना गरेर व्यवसाय गरे कसैको पनि विमति नहुने बताए ।
रात्रिकालीन व्यवसायलाई व्यवस्थित गर्न अनुगमनको विषय पनि उठेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले रात्रिकालीन व्यवसाय गर्दा अपनाउनुपर्ने आचारसंहिता पालना भए नभएको हेर्न अनुगमन समिति बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले २४ सै घण्टा खोल्नका लागि मापदण्ड पु¥याएर अनुमति माग्न नआउने र मुद्दा दायर गरेर दुःख दिने गरेको जानकारी पनि दिए । अन्तर्राष्ट्रिय स्तरका पर्यटक आउने लेकसाइडका जनताका लागि चुनौती र जिम्मेवारी बढी भएको उनले बताए ।
नियम कानुनको पालना नगर्दा फेवातालमा डुंगामा सवार गर्ने व्यवसायलाई व्यवस्थित गर्न नसकिएको प्रसंग पनि उनले सुनाए । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्यबहादुर बोगटीले नागरिकका आवाज सुनेर पर्यटकीय क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने बताए ।
नागरिक सुनुवाई कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुरप्रसाद बराल, पूर्व अध्यक्षहरू मंगल नेपाली र लक्ष्मीनारायण श्रेष्ठ, सल्लाहकार तेजनारायण अधिकारी, कृषि सञ्जाल पोखरा ६ का अध्यक्ष विन्दा धरेल, पर्यटन व्यवसायी संघका महासचिव भावना रानाभाट, नागरिक समाज पोखराका पूर्व संयोजक विष्णुहरि अधिकारी, हरिबहादुर पहारी, सीता पहारी पौडेल, गणेशबहादुर ढकाल, सीतादेवी अधिकारी र कृष्ण बराल लगायतले गुनासो राखेका थिए ।





