
अग्निपथ मार्फत भारतीय सेनामा भर्ती पुनः सुरु गर्न माग गर्दै पोखरामा प्रर्दशन
पोखरा, २६ साउन/ भारतीय भूपू सैनिक संघ गोर्खा ब्रिगेड नेपाल, पोखराले नेपाली युवालाई भारतीय सेनामा भर्ती गर्ने प्रक्रिया पुनः सुरु गर्न नेपाल सरकारसँग माग गरेको छ ।
बुधबार पोखरामा प्रर्दशन गर्दै संघले प्रधानमन्त्री बालेन्द्र शाहलाई जिल्ला प्रशासन कार्यालय कास्की मार्फत ज्ञापन पत्र बुझाएको छ । सन् २०२२ जुनदेखि रोकिएको नेपाली युवाको भारतीय सेनामा भर्ती प्रक्रिया पुनः सुरु गर्न पहल गरिदिन माग गरेका छन् ।
भारतले सन् २०२२ मा अग्निपथ योजना लागू गरेपछि नेपाली युवाको भारतीय सेनामा भर्ती प्रक्रिया रोकिएको हो । लामो समयदेखि नेपाली युवाले भारतीय सेनामा सेवा गर्दै आएको उल्लेख गर्दै संघले भर्ती प्रक्रिया रोकिँदा रोजगारीको अवसरबाट नेपाली युवा वञ्चित भएको जनाएको छ ।
अग्निपथ योजनाअन्तर्गत १७.५ देखि २१ वर्ष उमेर समूहका युवालाई ‘अग्निवीर’का रूपमा भर्ती गर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ । चार वर्षको सेवापछि उत्कृष्ट प्रदर्शनका आधारमा २५ प्रतिशतलाई स्थायी सैनिकका रूपमा राखिने र बाँकीलाई विभिन्न सुविधा तथा एकमुष्ट रकमसहित सेवाबाट बिदा गरिने व्यवस्था रहेको संघले जनाएको छ ।
चार वर्षको अवधिमा अग्निवीरले विभिन्न सुविधा तथा आम्दानीबाट करिब ४५ देखि ५० लाख रुपैयाँसम्म प्राप्त गर्न सक्ने उल्लेख गर्दै यसले नेपाली युवाको रोजगारी र आर्थिक अवस्थालाई समेत सहयोग पुग्ने बताइएको छ । यसैगरी, संघले ‘सैनिक’ शब्द प्रयोग भएका कारण नवीकरण रोकिएका भूतपूर्व सैनिकसम्बन्धी संघ–संस्थाहरूको नवीकरण प्रक्रिया अघि बढाउन पनि सरकारसँग आग्रह गरेको छ ।
भारतीय भू–पूर्व सैनिक संघले नेपाली युवाको भारतीय सेनामा भर्तीको विषयलाई नेपाल सरकारमार्फत कूटनीतिक पहल गरी पुनः सञ्चालन गर्नुपर्ने माग गरेको हो।
ज्ञापन पत्र बुझाउनुअघि ¥याली निकालेका थिए । ¥यालीमा उनीहरूले अग्निपथ अन्तर्गत नेपाली युवाहरूलाई भारतीय सेनामा भर्ती गर, गृह मन्त्रालयको पत्र बदर गर, भूपू सैनिकका आवाज सम्बोधन गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।





