
मदरल्याण्डका अमृत आइओई प्रवेश परीक्षामा दोस्रो हुन सफल, विद्यालयद्वारा बधाई तथा सम्मान
पोखरा, २० साउन / मदरल्याण्ड माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीले इन्जिनियरिङतर्फ स्नातक तह अध्ययनका लागि प्रवेश परीक्षामा पाएको सफलतासँगै बधाई तथा सम्मान कार्यक्रम गरेको छ ।
पोखरा–७, मासबारस्थित मदरल्याण्डबाट हालै कक्षा १२ उत्तीर्ण भएकाहरुमध्ये अमृत तिमिल्सिनाले त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) तथा काठमाडौं विश्वविद्यालयको कुक्याट प्रवेश परीक्षामा दोस्रो स्थानमा नाम निकाल्न सफल भएका छन् ।
मंगलबार प्रकाशित आइओई प्रवेश परीक्षाको नतिजामा मदरल्याण्डका अमृतसहित २८ जना विद्यार्थी उत्कृष्ट १०६५ स्थानसम्म पर्न सफल भएका छन् । त्यसैगरी, गत साता प्रकाशित कुक्याटतर्फ अमृतसहित ९ जना विद्यार्थी ९६ स्थानभित्रै परेका थिए ।
बुधबार विद्यालय परिसरमा आयोजित समारोहमा विद्यालय प्राचार्य डा नारायण बराल, निर्देशक डा त्रिभुवन शर्मा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमनारायण पोखरेल, विद्यालयका प्रशासन प्रमुख कृष्ण प्रसाद बराल, प्लस टु इन्चार्ज नारायण आचार्य, अंग्रेजी विभाग प्रमुख वामनप्रसाद घिमिरे तथा शिक्षकहरुले विद्यार्थीलाई खादा, माला र अबिर लगाएर बधाई ज्ञापन गरे । कार्यक्रममा यो सफलतासँगै शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।
सो अवसरमा प्राचार्य डा बराल, निर्देशक डा शर्मा, प्लस टु इन्चार्ज आचार्य, सम्मानित विद्यार्थीको तर्फबाट सुभाष पोखरेल, शिक्षक विष्णुप्रसाद गौतमलगायतले विद्यार्थीको कडा मेहनत, शिक्षक र अभिभावकको सहयोगले यो नतिजा आउन सकेको बताए । कार्यक्रम संचालन शिक्षक वामनप्रसाद घिमिरेले गरे ।
पोखरा–१८, सराङकोटका अमृतले मदरल्याण्डमा नर्सरीदेखि नै अध्ययन गरेका हुन् । आईओईको प्रवेश परीक्षामा देशभरबाट १३ हजार जना विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए । मदरल्याण्डका सविन आचार्य २०७३ सालमा त्रिवि चिकित्सातर्फको प्रवेश परीक्षामा दोस्रो ¥याङ्कमा पर्न सफल भएका थिए ।





