पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि तीन आकांक्षी मैदानमा, अन्य पदमा को को ?

-


     क्लिक गण्डकी     
     श्रावण १६ गते २०८३ मा प्रकाशित


पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि तीन आकांक्षी मैदानमा

पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि तीन आकांक्षी मैदानमा

पोखरा, १६ साउन/ पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनको चुनावी माहोल तातिएको छ। अध्यक्ष देखि कार्यसमितिका विभिन्न पदसम्मका आकांक्षीहरूले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै चुनावी अभियानलाई तीव्र बनाएका छन्।

अघिल्ला महाधिवेशनहरूमा प्यानल बनाएर सामूहिक रूपमा चुनावी प्रचार हुने गरे पनि यसपटक अधिकांश व्यवसायीले व्यक्तिगत रूपमा उम्मेदवारी घोषणा गर्दै मतदाता भेटघाटलाई प्राथमिकता दिएका छन्। प्यानल औपचारिक रूपमा घोषणा हुनुअघि नै उम्मेदवारहरू सामाजिक सञ्जालमार्फत सक्रिय भएका हुन्।

हालसम्म अध्यक्ष पदका लागि तीन जनाले खुला रूपमा उम्मेदवारी घोषणा गरेका छन्। वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उपाध्यक्ष बलराम आचार्य र महासचिव शोभा गौतमले उमेदवारी सार्वजनिक गरिसकेका छन्।

यसअघि पूर्व महासचिव अर्जुन पोखरेल, पूर्व उपाध्यक्ष माइकल कर्माचार्य र पूर्व कार्यसमिति सदस्य नारायण शर्मा पनि अध्यक्षका सम्भावित उम्मेदवारका रूपमा चर्चामा थिए। तर माइकल कर्माचार्यले उम्मेदवारी नदिने संकेत गरेका छन् भने नारायण शर्मा पछिल्लो समय मौन देखिएका छन्।

अर्जुन पोखरेल भने केही समयअघि क्यानडा गएका कारण सार्वजनिक रूपमा सक्रिय देखिएका छैनन्, यद्यपि निकटस्थ व्यवसायीहरूसँग उनले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने इच्छा व्यक्त गरेको बताएको छ ।

यसपटक अध्यक्षको प्यानलभन्दा अलग रूपमा पदाधिकारीहरूबीच समूह निर्माण गर्ने अभ्यास पनि देखिएको छ। कतिपय आकांक्षीहरूले पहिले आफूहरूको समूह बनाउने र पछि बलियो अध्यक्ष उम्मेदवारसँग सहकार्य गर्ने रणनीति अपनाएका छन्। अहिले सम्म वरिष्ठ उपाध्यक्षमा दिनेश बाँस्तोला, उद्योग उपाध्यक्षमा ललित कुँवर, वाणिज्य उपाध्यक्षमा मनोज श्रेष्ठ, महासचिवमा सुदीप प्रधानाङ्ग, कोषाध्यक्षम देबेन्सन प्रजुले उम्मेदवारी घोषणा गरेका छन् ।