पोखराका जुस पसल अनुगमनः तीन वटालाई ५०/५० हजार जरिवाना

-


     क्लिक गण्डकी     
     श्रावण १५ गते २०८३ मा प्रकाशित


पोखराका जुस पसल अनुगमनः तीन वटालाई ५० /५० हजार जरिवाना

पोखराका जुस पसल अनुगमनः तीन वटालाई ५० /५० हजार जरिवाना

पोखरा, १५ साउन/ जिल्ला अनुगमन समिति, कास्कीले बिहीबार पोखराको राष्ट्र बैंक चोक र शहीद चोकका विभिन्न ७ वटा जुस पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा एकदुई वटा बाहेक सबैजसो जुस पसलमा सरसफाइ नभएको, व्यवसाय दर्ता नगरेको, नवीकरण नगरेको, नापतौल दर्ता नगरेको पाइएको छ ।

तीमध्ये राष्ट्र बैंक चोकका २ वटा र शहीदचोकको एउटा जुस पसललाई ५०/५० हजार रुपैयाँ दरले जरिवाना गरिएको छ । हन्ड्रेस प्रसेन्ट फ्रेस जुस सेन्टर, जुस बक्स पोखरा र रव जुस पोखरालाई ५०/५० हजार रुपैयाँ जरिवाना तोकिएको छ । सरसफाइ नभएको र पसल दर्ता नभएका जुस पसललाई ७ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन समेत दिइएको छ ।

गत सोमबार लेकसाइडस्थित फ्रेस जुस पसलबाट जुस पिएका ४ जना बिरामी परेपछि जिल्ला अनुगमन समितिले यहाँका जुस पसलमा अनुगमन तीव्र पारेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उक्त जुस पसललाई पनि ५० हजार जरिवाना गरिएको थियो ।

बिहीबारको अनुगमनमा पसलहरुको नवीकरण नगरेको पाइएको र फोहोर देखिएपछि जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकरी बरालले जानकारी दिए । उनका अनुसार एकदुई वटा बाहेक सबैजसो जुस पसलमा सरसफाइ नभएको, व्यवसाय दर्ता नगरेको, नवीकरण नगरेको, नापतौल दर्ता नगरेको पाइयो ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालयसहित नापतौल कार्यालय, आन्तरिक राजस्व कार्यालय, पोखरा महानगरपालिका, उपभोक्ता मञ्च, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सहभागी थिए । अनुगमन समिति कास्कीले बुधबार साँझ लेकसाइडस्थित विभिन दोहोरी तथा डान्सबारमा अनुगमन गरेको थियो ।