
गुप्तेश्वर महादेव गुफा
पोखरा, १४ साउन/ पोखरा धार्मिक एंव पर्यटकीय क्षेत्र गुप्तेश्वर गुफामा एक वर्षमा नै १० लाख भन्दा बढी पर्यटकहरुले अवलोकन गरेका छन् ।
पोखरा १७ छोरेपाटनमा रहेको गुप्नेश्वर गुफामा स्वादेशी तथा विदेशी गरी १० लाख भन्दा बढि पर्यटकले भ्रमण गरेका छन् । आर्थिक वर्ष २०८२/८३ मा १० लाख ६७ हजार ५ सय ६४ जनाले गुफाको भ्रमण गरेको गुप्तेश्वर गुफा व्यवस्थापन समितिका सहलेखापाल युवराज थापा पराजुलीले जानकारी दिए ।
यो अघिल्लो आर्थिक वर्षको भन्दा २ लाख ७१ हजार ३९ जना पर्यटक बढि आएको पराजुलीले बताए । आर्थिक वर्ष २०८१/८२ मा ७ लाख ९६ हजार ५ सय २५ जना स्वदेशी तथा विदेशी पर्यटकले यो क्षेत्रको भ्रमण गरेका थिए । आर्थिक वर्ष २०८२/८३ मा ५ लाख ९१ हजार ८१ जना स्वदेशी र ४ लाख ७६ हजार ४ सय ८३ जना पर्यटकले गुफा अवलोकन गरेका थिए ।
त्यसै गरी आर्थिक वर्ष २०८१/८२ मा ४ लाख ४८ हजार ७ सय ८ जना स्वदेशी तथा ४ लाख ४७ हजार ८ सय १७ जना विदेशी पर्यटक आएका थिए ।
पर्यटकबाट गएका आर्थिक वर्षमा ७ करोड ७ लाख ४५ हजार ८ सय रुपैया आम्दानी भएको छ भने अघिल्लो आर्थिक वर्षमा ५ करोड ३७ लाख ६९ हजार ७० रुपैया आम्दानी गरेको थियो । गुफाले अघिल्लो वर्षको भन्दा १ करोड ६९ लाख ७६ हजार ७ सय ३० रुपैया बढि आम्दानी गरेको पराजुलीले बताए ।
पर्यटकहरु गुफामा अवस्थित महादेवको दर्शन र मनोहर पातले छाँगो (डेभिजफल्स) को मनोरम दृश्यावलोकनमा आउने गर्दछन् । जमिनको सतहबाट करिब १ सय मिटर चट्टानबाट रसाएका पानीका थोपाले स्नान गर्दै केही तल झरेपछि गुफाभित्र फराकिलो स्थानमा महादेवको दर्शन गर्न पाइन्छ । पत्रे चट्टानमा विभिन्न देवदेवीका आकृति देखिछन् ।
गुफाभित्र अवस्थित महादेवको दर्शन गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ दर्शणार्थी पटकपटक यहाँ आउने गरेको उनले बताए । उनका अनुसार गुफा २०५० सालमा पत्ता लागेपछि प्रचारप्रसारमा भएको थियो ।





