
पोखरामा ‘अपरेसन ३६५’ अन्तर्गत थप १८ मोटरसाइकल नियन्त्रणमा, ७४० लाई कारबाही
पोखरा, ८ साउन/ जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अपरेसन ३६५’ अभियान अन्तर्गत स्वरुप परिवर्तन गरी अत्यधिक ध्वनि प्रदूषण गर्ने थप ३३ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
गएराति पोखरा महानगरपालिकाका विभिन्न स्थानमा विशेष चेकजाँच अभियान सञ्चालन गरी ती मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको हो।
चेकजाँचका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले महेन्द्रपुल र नयाँबजार क्षेत्रबाट २ वटा, वडा प्रहरी कार्यालय बैदामले लेकसाइड, सिर्जनाचोक र राष्ट्र बैंकचोक क्षेत्रबाट १० वटा, इलाका प्रहरी कार्यालय शिशुवाले तालचोक र गगनगौंडा क्षेत्रबाट २ वटा, वडा प्रहरी कार्यालय बगरले बाग्लुङ बसपार्क, बिन्ध्याबासिनी र नदीपुर क्षेत्रबाट १४ वटा तथा वडा प्रहरी कार्यालय रामबजारले अमरसिंहचोक, अस्पतालचोक र बुद्धचोक क्षेत्रबाट ५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीले स्वरुप परिवर्तन गरी ठूलो आवाज निकाल्ने सवारीसाधनमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ। यस्ता गतिविधिले ध्वनि प्रदूषण बढाउनुका साथै सर्वसाधारणको शान्ति–सुरक्षामा असर पुर्याउने भएकाले अभियानलाई थप प्रभावकारी बनाइएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ‘अपरेसन ३६५’ अभियान सुरु भएयता हालसम्म ७७३ वटा सवारीसाधन र ३६ जना व्यक्ति नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही गरिएको छ।





