एक्यापमा लेक लागेर एक वर्षमा २५ जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     श्रावण ६ गते २०८३ मा प्रकाशित


एक्यापमा लेक लागेर एक वर्षमा २५ जनाको मृत्यु

एक्यापमा लेक लागेर एक वर्षमा २५ जनाको मृत्यु

पोखरा, ६ साउन/ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०भित्र लेक लागेर एक वर्षमा २५ जनाको मृत्यु भएको छ । लेक लागेर सबै भन्दा धेरै मुस्ताङमा लेक लागेर मृत्यु भएको छ । आर्थिक वर्ष २०८२।०८३ मा थप ५ जना हिमाल चढ्ने क्रममा दुर्घटना भएर मृत्यु भएको छ ।

मुस्ताङमा मात्रै १५ जनाको लेक लागेर मृत्यु भएको छ । जसमा मुक्तिनाथमा ८ भारतीय र ४ नेपाली नागरिक, दामोदर कुण्डमा १ नेपाली, लोमन्थाङमा १ नेपाली र टुकुचेमा १ मेक्सिकन नागरिकको मृत्यु भएको एक्यापका निर्देशक डा रविन कडरियाले जानकारी दिए ।

मनाङमा सबैभन्दा बढी नेपालीको मृत्यु भएको छ । मनाङमा मृत्यु भएका ८ जना मध्ये नार–फु क्षेत्रमा ३ नेपाली भरिया÷गाइड, अन्नपूर्ण चक्रपथमा १ नेपाली गाइड, १ नेपाली पर्यटक, १ भारतीय, १ जापानी र १ सिंगापुरका नागरिकको मृत्यु भएको हो ।

गत वर्ष मार्दी हिमाल क्षेत्रमा पनि १ जना स्पेनिस नागरिकको लेक लागेर मृत्यु भएको छ । अन्नपूर्ण आधार शिविर जाने बाटोमा १ जना नेपाली नागरिकको मृत्यु भएको छ । यसबाहेक पदयात्राका क्रममा दुर्घटनाका कारण पनि ज्यान गुमाएका छन् ।

भारी हिमपातका कारण मनाङमा बेपत्ता भएका २ जना भारतीय पर्यटक पछि मृत अवस्थामा फेला परेका थिए । मनाङकै हिमलुङ हिमालमा लडेर १ जना अस्ट्रेलियाली पर्वतारोहीको मृत्यु भएको छ ।

मार्दी हिमाल मार्गमा हराएका १ जना नेपाली पदयात्री मृत फेला परेका थिए भने खोप्रा पदमार्गमा लडेर १ जना जर्मन पदयात्रीको मृत्यु भएको कडरियाले जानकारी दिए । लेक लाग्ने समस्याबाट पूर्व सावधानी अपनाउन उनले पर्यटकसँग आग्रह गरेका छन् ।