
रास्वपा
पोखरा, ५ साउन/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङ जिल्लाको अधिवेशनले वैधानिकता गुमाएको छ । अधिवेशन प्रक्रिया नपुगी नेतृत्व घोषणा गरिएको भन्दै उजुरी परेपछि केन्द्रीय निर्वाचन आयोगले नवगठित कार्यसमिति खारेज गरिदिएको हो ।
अधिवेशन सञ्चालन प्रक्रिया सम्बन्धी प्राप्त उजुरीका आधारमा अध्ययन गर्दा उपलब्ध तथ्य, प्रमाण तथा सम्बन्धित पक्षको स्पष्टीकरणको परीक्षण गरेर निर्णय लिइएको रास्वपाले जनाएको छ । ‘अधिवेशनको प्रक्रिया मिलेको थिएन ।
कार्यसमिति घोषणा भए पनि निर्वाचन आयोगले रोकेको थियो,’ प्रदेश सभापति नवीन त्रिपाठीले भने, ‘यो निर्वाचन आयोगले खारेज गरिदिएको छ । अब अर्को मिति तय गरेर अधिवेशन अघि बढ्छ ।’
रास्वपा लमजुङको अधिवेशनको विरोधमा पनि उजुरी परेको थियो । उक्त उजुरीमाथि थप निर्णय नभएको प्रदेश सभापति त्रिपाठीले सुनाए ।
बागलुङको नयाँ अधिवशेन गर्न ७ दिनभित्र प्रक्रिया र मिति सार्वजनिक गर्ने निर्णय गरेको छ । जेठ अन्तिम साता भएको अधिवेशनले पुनम शर्माको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।





