पोखरामा श्रृंखलाबद्ध चोरीमा संलग्न ४ विदेशी सहित ९ जना पक्राउ, सुन र नगद बरामद

-


     क्लिक गण्डकी     
     श्रावण २ गते २०८३ मा प्रकाशित


पोखरामा श्रृंखलाबद्ध चोरीमा संलग्न ४ विदेशी सहित ९ जनाको गिरोह पक्राउ, सुन र नगद सहित पक्राउ

पोखरामा श्रृंखलाबद्ध चोरीमा संलग्न ४ विदेशी सहित ९ जनाको गिरोह पक्राउ, सुन र नगद सहित पक्राउ

पोखरा, २ साउन/ पोखरा महानगरपालिकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा चोरीका गर्दै आएका ४ विदेशी नागरिक सहित ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकाहरूको साथबाट सुनका गरगहना, नगद, मोबाइल, ल्यापटप, स्मार्ट घडी लगायत चोरीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

पोखरा महानगरभित्र चोरीका घटना बढ्न थालेपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले सूक्ष्म अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा चोरीमा संलग्न गिरोहलाई नियन्त्रणमा लिई चोरीका सामान सहित पक्राउ गरिएको हो।

उनीहरूमाथि कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका गिरोहले पोखराका विभिन्न स्थानमा भएका पाँच ठाउँमा चोरी गरेको थियो । असार १४ गते राति पोखरा–१८ मणिमार्ग स्थित हेमराज गिरीको घरबाट करिब २५ तोला सुनका गरगहना र ७० हजार रुपैयाँ नगद चोरी गरिएको थियो।

यस्तै, असार ४ गते पोखरा–१७ छोरेपाटनस्थित शिवप्रसाद बरालको घरबाट आधा तोला सुन, एक लाख ५० हजार रुपैयाँ नगद, एक ल्यापटप र एक मोबाइल चोरी भएको थियो।

असार १५ गते पोखरा–१८ भकुण्डेस्थित गिरीधरी श्रेष्ठको घरबाट दुई मोबाइल र १ तोला ५४ लाल बराबरका सुनका गरगहना चोरी भएका थिए।

त्यसैगरी, असार २३ गते पोखरा–८ ज्ञानकुञ्ज मार्गस्थित मोहसेन खतामीको कोठाबाट एक मोबाइल र २५ हजार रुपैयाँ नगद तथा सोही रात पोखरा–६ लेकसाइडस्थित हिरामणि लामिछानेको घरबाट आइफोनसहित अन्य सामान चोरी भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

पक्राउ पर्नेमा भारतका दुई, चीनका दुई तथा नेपालका पाँच जना रहेका छन्। उनीहरूमा भारत उत्तर प्रदेशका २३ वर्षीय राहुल निषाद, भारत महाराष्ट्रका ४० वर्षीय सोमनाथ हनुमन्त जाधव, चीनको गुइझाउका ३० वर्षीय वेन जी, चीनको शान्दोङका ३७ वर्षीय वाङ लियानयिन, स्याङ्जाका ४२ वर्षीय राजकुमार बिक, कास्कीका खिमबहादुर क्षेत्री ९राजु केसी०, अर्घाखाँचीका २९ वर्षीय अशोक पोख्रेल, कास्कीका ५१ वर्षीय केशव पाइजा मगर र बागलुङका २७ वर्षीय अनिल बिक रहेका छन्।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट ९ थान मोबाइल फोन, १ थान स्मार्ट घडी, १ थान ल्यापटप, १.३९४ तोलाको सुनको ब्रासलेट, ०.६४४ तोलाका पाँच थान सुनका टुक्रा, विभिन्न तौलका पाँच थान सुनका ढिक्का र नगद २ लाख १ हजार २२० रुपैयाँ बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ परेका सबै जनामाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा थप अनुसन्धान जारी रहेको छ।