
‘पोखरा कोरा च्यालेन्ज २०२६’, दृष्टिविहीन विद्यार्थी छात्रावासका लागि सहयोग जुटाइँदै
पोखरा, २ साउन/ सामाजिक सेवा, स्वस्थ जीवनशैली र वातावरण संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘पोखरा कोरा च्यालेन्ज २०२६’ शनिबार पोखरामा सम्पन्न भएको छ ।
‘सँगै साइकल चलाऔँ, जीवनमा परिवर्तन ल्याऔँ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा संकलित सहयोग पोखरा स्थित दृष्टिविहीन विद्यार्थी छात्रावासलाई प्रदान गरिने आयोजकले जनाएको छ।
कार्यक्रमका संरक्षक तथा रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले यस्ता सामाजिक अभियानले समुदायमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे। उनले खेल, स्वास्थ्य र सेवाभावलाई एकसाथ अघि बढाउने यस्ता कार्यक्रमको निरन्तरतामा जोड दिए।
आयोजक संस्था आरिव निर्माण सेवाका सञ्चालक विजयराज लामाले कार्यक्रमको उद्देश्य कोरा च्यालेन्जले खेलकुदमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अभियानका रूपमा कार्यक्रम आयोजना गरिएको बताए।
यस वर्षको कोरा च्यालेन्ज अन्तर्गत ५०, ७५ र १०० किलोमिटरका तीन फरक दूरीका रुट तय थिए । कार्यक्रमको औपचारिक शुभारम्भ रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले सिटी फुकेर गरेका थिए।
कार्यक्रमलाई चिल्ली बार रेष्टुरेन्ट, नमस्ते कम्युनिटी फाउन्डेसन नेपाल, सुलभ उपभोक्ता सहकारी संस्था लिमिटेड, चालिसे साइकल, एनपीबी पोखरा, अन्नपूर्ण हस्पिटल, लेकसिटी ब्याडमिन्टन क्लब तथा शक्ति आमा समूह लगायत विभिन्न संस्थाहरूले सहयोग गरेका छन्। कार्यक्रम सञ्चालन रेवान पोखराका प्रमुख कार्यकारी अधिकृत कमल राज कोइरालाले गरेका थिए।
आयोजकले कोरा च्यालेन्जको सामाजिक उद्देश्यलाई आत्मसात गर्दै सुरक्षित, अनुशासित र उत्साहपूर्ण रूपमा यात्रामा सहभागी हुन सबैमा आग्रह गरेको छ। पोखराको लेकसाइडबाट सुरु भएको साइकल यात्रा पोखराको विभिन्न ठाउँमा पुगेर दुरी पुरा गर्दै क्याम्पिन चौरमा आएर समापन भएको थियो ।





