पोखरामा हतियार सहित दुई जना पक्राउ

-


     क्लिक गण्डकी     
     असार ३२ गते २०८३ मा प्रकाशित


पोखरामा हतियार सहित दुई जना पक्राउ

पोखरामा हतियार सहित दुई जना पक्राउ

पोखरा, ३२ असार/ पोखरा महानगरपालिका १४ मझेरीपाटनबाट भरुवा बन्दुक र धारिलो हतियार सहित दुई जना पक्राउ परेका छन्।

असार ३१ गते राति करिब १० बजे पोखरा महानगरपालिका–१४ मझेरीपाटन निवासी ३० वर्षीय साजन बिकले अवैध रूपमा भरुवा बन्दुक राखेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा साजन बिक सुत्ने कोठामा लुकाईछिपाई राखिएको एक नाल भरुवा बन्दुक र एक थान फलामको धारिलो हतियार बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले साजन बिकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उक्त हतियारको कुनै पनि इजाजतपत्र नभएको खुलेको थियो। हतियार पोखरा–१४ कै ३० वर्षीय संजय नेपालीले राख्न दिएको बयानका आधारमा उनलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।