नेपाल पर्यटन बोर्डको सदस्यमा पोखराका सन्तोष पोखरेल सहित ५ जना नियुक्त

-


     क्लिक गण्डकी     
     असार ३० गते २०८३ मा प्रकाशित


नेपाल पर्यटन बोर्डको सदस्यमा पोखराका सन्तोष पोखरेल सहित ५ जना नियुक्त

नेपाल पर्यटन बोर्डको सदस्यमा पोखराका सन्तोष पोखरेल सहित ५ जना नियुक्त

पोखरा, ३० असार/ नेपाल पर्यटन बोर्डको सदस्यमा सरकारले पाँच जनालाई नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार गरेको निर्णय अनुसार पोखराका होटल व्यवसायी सन्तोष पोखरेल सहित पाँच जनालाई बोर्ड सदस्यमा नियुक्त गरेको हो ।

पोखरेलसँगै आरोग्य पर्यटन क्षेत्रबाट डा सोविता श्रेष्ठ ढकाल, पर्यटन व्यवसायी पेम्बा शेर्पा, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष खुमबहादुर सुवेदी र आईटी तथा वेलनेस पर्यटन विज्ञ सृजना केसीलाई बोर्ड सदस्यमा नियुक्त गरेको हो । नवनियुक्त सदस्यहरूको कार्यकाल तीन वर्षको रहनेछ।

नवनियुक्त सदस्य सन्तोष पोखरेलले आफूले केवल पोखराको मात्र नभई गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन क्षेत्रको प्रतिनिधित्व गर्ने बताए ।

मन्त्रालयले गठन गरेको सिफारिस समितिले एक हजार एक सयभन्दा बढी आवेदनको मूल्यांकनपछि १० जनाको नाम सिफारिस गरेको थियो। सोही सूचीबाट मन्त्रीस्तरीय निर्णयमार्फत पाँच जना सदस्य नियुक्त गरिएको हो।

नेपाल पर्यटन बोर्डको संरचना अनुसार निजी क्षेत्रका पाँच सदस्यसँगै पाँच जना पदेन सरकारी सदस्य रहने व्यवस्था छ। पर्यटन मन्त्रालयका सचिव बोर्डका अध्यक्ष रहनेछन् भने प्रमुख कार्यकारी अधिकृत सदस्य सचिव हुने व्यवस्था छ।