पोखरामा ठुलोमात्रामा लागूऔषध सहित पाँच भारतीय नागरिक पक्राउ

-


     क्लिक गण्डकी     
     असार २९ गते २०८३ मा प्रकाशित


पोखरामा ठुलोमात्रामा लागूऔषध सहित पाँच भारतीय नागरिक पक्राउ

पोखरामा ठुलोमात्रामा लागूऔषध सहित पाँच भारतीय नागरिक पक्राउ

पोखरा, २९ असार/ कास्की प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०८३ असार २८ गते राति करिब १० बजे पोखरा महानगरपालिका–३२ मझुवास्थित क्षेत्रमा लागूऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो पोखरा र इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी साधन जाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले पोखरातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट UP53EY7704 नम्बरको कार रोकी जाँच गर्दा कारको विभिन्न भागमा लुकाइछिपाइ राखिएको अवस्थामा डाइजापाम ६०० एम्पुल, फेनरागन ६४८ एम्पुल र बुप्रिनोर्फिन ६०० एम्पुल गरी जम्मा १ हजार ८४८ एम्पुल लागूऔषध बरामद गरेको जनाएको छ।

त्यसैगरी नाइट्रोभ्याट ३० चक्की, ट्यापेन्टाडोल १०० चक्की, ट्रामाडोल ३८० चक्की तथा ५ थान मोबाइल फोन पनि प्रहरीले बरामद गरेको छ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश, गोरखपुरका २७ वर्षीय विकास कुमार, २९ वर्षीय आशिष कुमार, २९ वर्षीय अभय कुमार मिश्र, ३३ वर्षीय पृतम कुमार र २५ वर्षीय अभिषेक कुमार रहेका छन्।

प्रहरीले पक्राउ परेका पाँचै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।